सर्लाही, फागुन ६ – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मितिमा हराएका मोबाइल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
मोबाइल हराएको भन्दै पीडितहरूले प्रहरी कार्यालयमा निवेदन दिएका थिए। ती निवेदनका आधारमा प्रहरीले खोजतलास गर्दा सात (०७) वटा मोबाइल फेला पार्न सफल भएको हो। फेला परेका ती मोबाइलहरू आज फागुन ६ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।
हराएका मोबाइल पुन: फिर्ता पाउँदा मोबाइलधनीहरूले खुसी व्यक्त गरेका छन्। साथै, जिल्ला प्रहरी कार्यालय सर्लाहीले चोरी तथा हराएका मोबाइल फेला पार्ने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। प्रहरी प्रशासनले प्रविधिको उपयोग गर्दै यस प्रकारका खोजतलासलाई निरन्तरता दिने बताएको छ।



