सरोज यादव । सर्लाही : सर्लाही सर्लाहीमा साहु समुदायमाथि भइरहेका निरन्तर आक्रमणको विरोध गर्दै साहु पीडित संघर्ष समिति, सर्लाही ले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ र प्रहरी उपरीक्षकलाई ज्ञापनपत्र बुझाएको छ। समितिले दोषीलाई कडा कानूनी कारबाहीको माग गर्दै समुदायको सुरक्षाको प्रत्याभूति गर्न प्रशासनलाई आग्रह गरेको छ।
समितिका अनुसार, बरहथवा नगरपालिका–१०, सीतापुरका रामबाबु राय यादवलाई २०८१ माघ २३ गते जिल्ला अदालतमा तारेख लिन गएका बेला अराजक समूहले आक्रमण गरेको थियो। समितिले विगत दुई वर्षदेखि साहु समुदायलाई लक्षित गरी कुटपिट, ठगी, गुण्डागर्दी, र दलालीजस्ता संगठित अपराध भइरहेको आरोप लगाएको छ।
साथै, अदालत नजिकै “ऋणी संघर्ष समिति” को नाममा गैरकानुनी रूपमा सञ्चालित कार्यालय तत्काल बन्द गर्न माग गरिएको छ। समितिले यदि प्रशासनले तत्काल कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।



