सर्लाही – सशस्त्र प्रहरी बल नेपाल नं. १० गण, हेडक्वार्टर सर्लाहीका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिनोदराज खनाललाई एक विशेष समारोहबीच बिदाई गरिएको छ। राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातिर्थ मा सरुवा भएपछि उनलाई सर्लाही जिल्लाका सुरक्षा निकाय, प्रशासन तथा सरोकारवालाहरूले “फेरि भेटौंला” कार्यक्रममार्फत सम्मानपूर्वक बिदाई गरेका हुन्।
एसपी खनालले सर्लाहीमा आफ्नो कार्यकालका क्रममा शान्ति सुरक्षा, सीमा व्यवस्थापन तथा अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएका थिए। कार्यक्रममा विभिन्न वक्ताहरूले उनको नेतृत्व क्षमताको प्रशंसा गर्दै आगामी जिम्मेवारीमा समेत उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, सर्लाहीका लागि नयाँ गणपति का रूपमा सरुवा भई आएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देव बहादुर चन्द लाई स्वागत गरिएको छ। उनलाई जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायहरूले सफल कार्यकालको शुभकामना दिएका छन्।
सशस्त्र प्रहरी बलको नेतृत्व हस्तान्तरणसँगै सर्लाहीको शान्ति सुरक्षा व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ।



