पोखरामा बेलुन पड्केर आगलागी: उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य गम्भीर घाइते, उपचार जारी

पोखरा – पोखरामा आयोजित भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा बेलुन पड्किएर आगलागी हुँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य गम्भीर घाइते भएका छन्। उनीहरूको काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा सघन उपचार भइरहेको छ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा बेलुन पड्केर आगो लाग्दा उनीहरू घाइते भएका थिए। स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। किर्तिपुर बर्न अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार प्रारम्भिक मूल्यांकनमा उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको छ। तर, अनुहारमा जलन भएका कारण श्वासनली र फोक्सोमा असर पर्न सक्ने भन्दै उच्च निगरानीमा उपचार गरिरहेको छ।

उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको टोली खटाइएको छ। प्रा. डा. विडी झा, डा. प्रविण गिरीसहितको सघन उपचार टोली, जलन विशेषज्ञहरू प्रा. डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादवलगायतको टोलीले उपचार गरिरहेका छन्। त्यस्तै आकस्मिक उपचार टोलीमा डा. प्रयुस अर्याल संलग्न छन्।

यसैगरी, रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जनसहितको नर्सिङ टोली घाइतेहरूको उपचारमा खटिएको छ। अस्पतालले उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ, तर थप जटिलता हुन नदिन चिकित्सकहरू उच्च सतर्कतामा रहेका छन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय