सर्लाही, १ फागुन — सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ स्थित पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत बाके जंगलको घारीबथान जाने चौकमा मंगलबार साँझ बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
बर्दिवासमा लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति, मधेश प्रदेशद्वारा आयोजित कार्यक्रममा सहभागी भई पथलैया फर्कँदै गरेको ना. ७ ख ३६४३ नम्बरको सिटी राइड बस तीव्र गतिका कारण अनियन्त्रित भई सडकको दक्षिणतर्फ पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको खबर पाएलगत्तै प्रहरी सहायक निरीक्षक (असई) समिद मियाँको नेतृत्वमा पाँच जना ट्राफिक प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको थियो।
बसमा ३७ जना यात्रु सवार थिए, जस मध्ये १५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि लालबन्दी पठाइएको छ। बस चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थल सर्लाहीको प्रहरी चौकीबाट करिब ९ किलोमिटर पूर्व पर्ने प्रहरीले जानकारी दिएको छ। उद्धार कार्य जारी रहेको र बाटो अवरुद्ध नभएको जनाइएको छ।
घाइते यात्रुहरूको विवरण:
मोडल अस्पतालमा उपचाररत:
१. लक्ष्मी देवी थरुनी (५२, बारा, जितपुर उ.म.न.पा-६) – टाउकोमा चोट, अवस्था मध्यम।
2. राजवती महरा (४५, करैयामाई गा.पा-७) – टाउकोमा चोट, अवस्था मध्यम।
3. रुमा कुमारी चौधरी (३५, जितपुर उ.म.न.पा-६) – टाउकोमा चोट, अवस्था मध्यम।
4. सनम सिंह (२७, बारा) – बायाँ कुममा चोट, अवस्था सामान्य।
5. शुशिला सिंह (४०, बारा) – टाउकोमा चोट, अवस्था सामान्य।
6. सविता सिंह (४०, बारा) – बायाँ कुममा चोट, अवस्था सामान्य।
7. चनिया देवी दनुवार (५५, बारा) – दाहिने हातमा चोट, अवस्था सामान्य।
8. लालपरी देवी (४५, पर्सा, बिरगंज म.न.पा-३२) – बायाँ हातमा चोट, अवस्था सामान्य।
म्याक्स अस्पतालमा उपचाररत:
1. जानकी देवी थरुनी (४८, करैयामाई गा.पा-७) – ढाड र दाहिने हातमा चोट, अवस्था सामान्य।
2. हिरामनी चौधरी (४५, जितपुर उ.म.न.पा-५) – बायाँ हातमा चोट, अवस्था सामान्य।
3. ईन्द्र देवी यादव (४८, करैयामाई गा.पा-७) – दुबै हात, कान, र ढाडमा चोट, अवस्था सामान्य।
4. द्रोपती चौधरी (५५, बारा) – दाहिने हातको औला काटिएको, ढाडमा चोट, अवस्था सामान्य।
5. बिष्णु देवी (६०, जितपुर उ.म.न.पा-६) – टाउको र घाटीमा चोट, अवस्था सामान्य।
6. अस्तुसी देवी (५५, करैयामाई गा.पा-७) – टाउको, अनुहार, दुबै खुट्टा, र ढाडमा चोट, अवस्था मध्यम।
7. फुल्मती देवी (५५, जितपुर उ.म.न.पा-६) – टाउको र घाटीमा चोट, अवस्था सामान्य।
8. ललित नारायण राय (४५, जितपुर उ.म.न.पा-६) – टाउको, ढाड, र हातमा चोट, अवस्था सामान्य।
अन्य १० जना यात्रु सकुशल छन् भने केही घाइतेहरूको विवरण पछि सार्वजनिक गरिनेछ।



