चार वर्षे कार्यकाल पूरा गर्दै आमसञ्चार प्राधिकरण मधेश प्रदेशको अध्यक्ष यादवको विदाई

जनकपुरधाम, २८ माघ – आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले चार वर्षे कार्यकाल पूरा गरेका छन्। २०७७ माघ २९ गते अध्यक्ष पदमा नियुक्त भएका यादवले न्यून स्रोत, साधन र जनशक्तिका बाबजुद प्राधिकरणलाई व्यवस्थित बनाउँदै सञ्चार क्षेत्रको प्रवर्द्धनमा विभिन्न सुधारात्मक कदम चालेका थिए।

चार वर्षे कार्यकालको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूले निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै यस अवधिमा संचार क्षेत्रको विकासका लागि पुर्‍याएको योगदानबारे जानकारी गराए। उनले भने, “जिम्मेवारी वहन गर्ने क्रममा यदि कुनै गल्ती भएको छ भने क्षमा चाहन्छु। मलाई विश्वास, साथ र सहयोग गर्नुहुने सबै अग्रज तथा सहकर्मीहरुप्रति आभारी छु।”

चार वर्षमा भएका प्रमुख उपलब्धिहरू

आमसञ्चार प्राधिकरणले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि महत्वपूर्ण नीतिगत र प्राविधिक पहलहरू गर्दै आफ्नो भूमिका प्रभावकारी बनाएको छ। यस अवधिमा भएका मुख्य उपलब्धिहरू निम्न रहेका छन् –

✅ लोककल्याणकारी विज्ञापन कार्यान्वयन – २०७९ देखि मधेश प्रदेशका सञ्चारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको।
✅ पत्रकार बीमा योजना – प्रदेशभरका ३१८ जना पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमा सुनिश्चित।
✅ अनलाइन मिडिया व्यवस्थापन – ५४ अनलाइन मिडिया दर्ता, नियमन तथा अनुगमन प्रक्रिया सुदृढ।
✅ प्रशिक्षण र सीप अभिवृद्धि – पाँच सयभन्दा बढी पत्रकारलाई अनलाइन पत्रकारिता, साइबर सुरक्षा, कृषि पत्रकारिता लगायत विषयमा तालिम।
✅ भाषिक विविधता प्रवर्द्धन – मैथिली, भोजपुरी र साङ्केतिक भाषामा विज्ञापन प्रकाशन तथा प्रशारण।
✅ संस्थागत सुदृढीकरण – प्राधिकरणको आधुनिकीकरण, सफ्टवेयर प्रणाली र डिजिटल सेवा विस्तार।

अध्यक्ष यादवको कार्यकालमा सञ्चार क्षेत्रमा महत्वपूर्ण सुधार र नीतिगत कार्यान्वयन भएको स्थानीय सञ्चारकर्मीहरूको भनाइ छ। प्रदेश सञ्चार ऐन २०७७ तथा अन्य नियमावलीहरूमार्फत सञ्चारमाध्यमहरूको नियमन, दर्ता तथा अनुगमनलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ।

चार वर्षे कार्यकाल पूरा गर्दै अध्यक्ष यादवले प्राधिकरणको भावी योजनाका लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। नयाँ नेतृत्वले सञ्चारमाध्यमहरूलाई अझ प्रविधिमैत्री र सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय