सर्लाही, २९ माघ – सर्लाही जिल्लाको मलंगवा नगरपालिका-५, भाडसरमा अवैध रूपमा संचालन भइरहेको घरेलु मदिरा भट्ठी नष्ट गरिएको छ। सोमबार बिहान करिब ९:१० बजे जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको ११ सदस्यीय टोलीले उक्त मदिरा भट्ठीमा छापा मारेको थियो।
प्रहरीका अनुसार स्थानीय व्यक्तिहरूले संचालन गरिरहेको सो भट्ठीबाट करिब ११०० लिटर घरेलु मदिरा, ३ थान मेशिन, तथा १० थान ड्रम बरामद गरिएको छ। उक्त सामग्रीहरूको अनुमानित मूल्य रु. १,६८,००० रहेको छ। बरामद गरिएका सम्पूर्ण अवैध मदिराजन्य वस्तुहरू प्रहरीले तत्कालै नष्ट गरेको जनाएको छ।
प्रहरीले अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अवैध मदिरा नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।



