सर्लाही – सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहनस्वरूप साइकल प्रदान गरेको छ। नगरपालिकाले गोडैता–३ स्थित जनता माध्यमिक विद्यालय भगवतीपुरमा आयोजित कार्यक्रममा ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो।
स्वास्थ्य क्षेत्रमा न्यून पारिश्रमिक लिएर महत्वपूर्ण योगदान दिँदै आएका स्वयंसेविकाहरूलाई पहिलो पटक यातायातको सुविधा दिन साइकल प्रदान गरिएको नगरप्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिए। हाल सरकारले मासिक १,००० रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएकोमा नगरपालिकाले थप २,००० रुपैयाँ प्रदान गर्दै आएको छ।
यसै कार्यक्रममा एसइइ परीक्षामा ३.६० जीपीएभन्दा माथि अंक प्राप्त गर्ने नगरभित्रका १० जना विद्यार्थीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। वेणी भोला नमूना माध्यमिक विद्यालय र नारायणहरि माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत भएका हुन्।
पुरस्कृत विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि अन्यत्र गइसकेकाले बैंक खातामार्फत पुरस्कारको रकम अभिभावकलाई हस्तान्तरण गरिएको शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादवले जानकारी दिए।



