सर्लाही, १८ माघ – तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा सर्लाहीको हरिवन र बागमती नगरपालिकाले आज (दोस्रो दिन) पनि स्थानीय बिदा दिएका छन्।
संघीय सरकारले हिजो देशभर सार्वजनिक बिदा दिए पनि तामाङ समुदायको बाक्लो बसोबास रहेको यी दुई पालिकाले आज थप एक दिन बिदा दिएका हुन्। नगरपालिकाका सबै कार्यालय, वडा कार्यालय, मातहतका अन्य निकायहरू तथा विद्यालय आज बन्द रहेका छन् भने बैंक तथा वित्तीय संस्था भने सुचारु रहेका छन्।
यसै अवसरमा बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। साथै, हरिवन-५ घुर्कौली सिद्धार्थ टोलस्थित चापिनी खोला किनारमा जारी प्रथम सांस्कृतिक महोत्सव आज समापन हुँदैछ।



