सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थान चोकस्थित नेत्र बहादुर कार्कीको घरमा भाडामा सञ्चालित हिमालयन पोली नेपाल नामक प्लास्टिक झोला उत्पादन गर्ने फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।
शुक्रबार बिहान करिब ३:२५ बजे विद्युत सर्ट भएर आगलागी सुरु भएको बताइएको छ। आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय केशरजंगबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ३० जनाको प्रहरी टोली, सागरनाथ बेस क्याम्पबाट ९ जना प्रहरी, हरिवन र मलंगवाबाट आएका दुई दमकल तथा स्थानीय बासिन्दाको सहयोग जुटाइएको थियो। अन्ततः बिहान ५:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
आगलागीका कारण उद्योगका मेसिन, कच्चा पदार्थ, र भवन पूर्ण रूपमा नष्ट भएका छन्। आगोले छेउमै रहेको नवल किशोर साहको घरमा पनि आंशिक क्षति पुर्याएको छ। हालसम्म आगलागीबाट भएको कुल आर्थिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



