विराटनगर, माघ १६, २०८१ – नेपाल सरकार र स्विस सरकार विकास सहयोग अन्तर्गत सहज परियोजनाको दोस्रो चरणको सहज च्यालेञ्ज फण्ड विजेताहरू घोषणा गरिएको छ। विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट पाँच डेरी उद्योगहरूलाई छनोट गर्दै उनीहरूको दुग्धजन्य उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो।
प्रतियोगितामा कोशी प्रदेशभरका १४६ डेरी उद्योगहरूबाट आवेदन परेका थिए, जसबाट विराटनगरको सुर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्री, सुन्दर हरैंचाको गोरस डेरी, झापाको रितिका डेरी, र तेह्रथुमको आधुनिक डेरी उद्योग विजेता घोषित भएका छन्।
कार्यक्रममा सहभागीहरूले यी डेरी उद्योगहरूद्वारा उत्पादित विभिन्न दुग्धजन्य वस्तुहरूको स्वाद परीक्षण गरेका थिए। सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठ का अनुसार, यो परियोजनाले डेरी उद्योगहरूको क्षमता अभिवृद्धि गर्न तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, होटल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनाल, नेपाल डेरी उद्योग संघका अध्यक्ष राजनकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, तथा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उनीहरूले सहज परियोजनाले नेपालका डेरी उद्योगहरूको क्षमता अभिवृद्धि गरी दुग्धजन्य उत्पादनको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। सहज च्यालेञ्ज फण्डले कोशी प्रदेशमा कृषि उत्पादन व्यवस्थापन तथा आपूर्ति शृंखलासम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्दै नवप्रवर्तनात्मक तथा व्यावसायिक सम्भाव्य परियोजनाहरूलाई प्रवर्द्धन गर्दै आएको छ।



