सर्लाही, १५ माघ। श्रमजीवी पत्रकार संघ, नेपाल सर्लाही शाखाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। सर्लाही टुडे दैनिक र न्यूज २४ टिभीका पत्रकार अनवर अहमदको अध्यक्षतामा समिति गठन भएको हो।
शनिबार श्रमजीवी पत्रकार संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको प्रमुख आतिथ्यतामा आयोजित भेलाले नयाँ नेतृत्व चयन गरेको हो। समितिको उपाध्यक्षमा मनोज यादव, महिला उपाध्यक्षमा अजिता चौधरी, सचिवमा सुमित महत्तो, सहसचिवमा राजीव शाह र कोषाध्यक्षमा लक्ष्मण यादव चयन भएका छन्। सदस्यमा अरोज यादव, राधेश्याम कुसवा, सुभाष मण्डल, अवरार अहमद र विवेक यादव रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि जन्मदेव जैसीले श्रमजीवी पत्रकारको हक, हित र अधिकार सुनिश्चित गर्न ठूला आन्दोलनको तयारी भइरहेको जानकारी गराए। उनले सबै सञ्चारगृहका पत्रकार, कर्मचारी र कामदारलाई नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन सुनिश्चित गर्न निर्णायक दबाब अभियान चलाइने बताए।
यस अभियानलाई प्रभावकारी बनाउन केन्द्रदेखि जिल्लासम्मका नेतृत्वले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।



