महोत्तरी – महोत्तरी जिल्लाको बर्दिबास-३, पाटु रातमाटा क्षेत्रमा रहेको प्राचीन हतियार कारखानाबारे पुरातत्व विभागले गहिरो अनुसन्धान सुरु गरेको छ। पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय टोलीले स्थलको प्रारम्भिक अध्ययन गरिरहेको छ।
पुरातत्वविद् ज्ञवालीका अनुसार यो क्षेत्र ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण रहेको प्रमाणित हुँदैछ। दुई दशकअघि जर्मन अनुसन्धानकर्ता गुडन कार्विन्सले पत्ता लगाएको यो स्थान अब थप अध्ययन र अन्वेषणको चरणमा पुगेको हो।
बिपी राजमार्गको उत्तरतर्फ चार किलोमिटर टाढा रहेको यो स्थलले पुरातात्विक महत्व राख्ने संकेत गरेको छ। प्रारम्भिक अध्ययनले क्षेत्रको ठूलो भाग पुराना संरचनाको अवशेषले ढाकिएको देखाएको छ।
विशेषज्ञ टोलीका अनुसार सात हजार वर्षअघिसम्म यहाँ मानव बस्ती रहेको प्रमाण भेटिए पनि हतियार कारखाना त्यसभन्दा पुरानो, करिब ३० हजार वर्ष पहिलेको हुनसक्ने अनुमान गरिएको छ। यसबारे थप प्रमाण खोज्न अध्ययनलाई व्यापक बनाइने पुरातत्वविदहरूले बताएका छन्।
रातु नदीको पश्चिम किनारमा अवस्थित यस स्थलले नेपालको प्राचीन सभ्यता र त्यसका विकासक्रमबारे नयाँ ढोका खोल्न सक्ने सम्भावना देखिएको छ। बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले यसको संरक्षण र संवर्द्धनका लागि आवश्यक स्रोतसाधन जुटाउन सरकार कटिबद्ध रहेको जनाएका छन्।
पाटुका स्थानीय बासिन्दा दीपकराज बरालले यो अनुसन्धानले आफ्नो क्षेत्रको विकासको नयाँ सम्भावना देखाएको भन्दै उत्साह प्रकट गरेका छन्। बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्काले प्राचीन सभ्यताको जानकारी बिस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
सरकारले यस क्षेत्रमा चासो देखाएपछि, यो ऐतिहासिक स्थलले राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व पाउने स्थानीयहरूको अपेक्षा छ।



