जनकपुरधाम, माघ १३ – सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा विजय दहालको निरन्तर १० वर्षे वर्चस्व समाप्त गर्न सरकार असफल भएको छ। पटक-पटक सरुवा गरिँदा पनि दहालले कार्यालय छोडेका छैनन्। श्रम तथा यातायात मन्त्रालयले १५ असोजमा दहाललाई मन्त्रालयमै सरुवा गरे पनि उनी अझै हाजिर भएका छैनन्।
दहाल पहिलोपटक २०७१ मा खरिदारका रूपमा लहान कार्यालय आएका थिए। त्यतिबेला एक वर्षमात्र बाहिर रहेर उनी फेरि सोही कार्यालयमा फर्किए। २०७४ मा नासुमा बढुवा भएपछि पनि उनी त्यहीँ रहे। हाल उनी छैटौँ अधिकृत पदमा छन्।
पछिल्ला वर्षहरूमा दहालको तीन पटक सरुवा भएको छ। २०८० सालमा मधेश सरकारअन्तर्गत उद्योग तथा पर्यटन मन्त्रालय र भू तथा जलाधार कार्यालयमा सरुवा गरिए पनि उनले कुनैपनि ठाउँमा हाजिर गरेनन्।
कार्यालयका कर्मचारीहरूका अनुसार, दहालले कार्यालय प्रमुखलाई समेत प्रभावमा राखी सम्पूर्ण काम आफूअनुकूल सञ्चालन गरेका छन्। “लहान यातायात कार्यालयमा नाम मात्रका प्रमुख छन्, वास्तविक शक्ति दहालको हातमा छ,” एक कर्मचारीले भने।
सरकारले सरुवा प्रक्रियामा देखाएको कमजोरी र दहालको शक्तिशाली पहुँचले यातायात कार्यालयजस्तो महत्वपूर्ण निकाय अनियमितताको चपेटामा परेको छ। मन्त्रालयका अनुसार, लहानको यो कार्यालय आर्थिक चलखेलको केन्द्र बनेको छ।
दहाल जस्तै, जनकपुरस्थित यातायात कार्यालयका रमेशकुमार दासले पनि सरुवा आदेशलाई बेवास्ता गर्दै मन्त्रालयमा हाजिर गरेका छैनन्।
सरकारले पटक-पटक पत्राचार गरेर समेत दहाललगायत अन्य अधिकारीहरूको अटेर नियन्त्रण गर्न नसक्नु प्रशासनिक कमजोरीको प्रत्यक्ष उदाहरण बनेको छ।



