सर्लाही, १२ माघ – नेकपा माओवादी केन्द्र सर्लाहीले बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध वन मुद्दा दायर गर्न खोजिएको भन्दै मुख्यमन्त्री शतीसकुमार सिंहलाई ज्ञापन पत्र बुझाएको छ।
माओवादी केन्द्रका अनुसार सागरनाथ वन विकास परियोजनाको क्षेत्रभित्र निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) लाई बहाना बनाएर नगरप्रमुख र उपप्रमुखलाई फसाउन षड्यन्त्र भइरहेको छ। यस विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ।
जिल्ला इन्चार्ज अच्यूतम काफ्लेको नेतृत्वमा माओवादी नेताहरू प्रदेश राजधानी जनकपुरधाम पुगेर मुख्यमन्त्रीसँग प्रत्यक्ष भेट गरेका हुन्। तीन दिनअघि नै जिल्ला प्रशासन, वन कार्यालय र सागरनाथ वन विकास परियोजनालाई चेतावनीसहितको ज्ञापन पत्र बुझाइसकेको माओवादी केन्द्रले यदि वन मुद्दाको प्रक्रिया अघि बढाएमा माघ १३ गतेदेखि चरणबद्ध आन्दोलन थाल्ने घोषणा गरेको छ।
ज्ञापन बुझाउने टोलीमा पूर्वमन्त्री गिरिराजमणि पोखरेल, नेता विश्वनाथ साह, प्रदेशसभा सदस्य भरत साह, जवाहारलाल कुशवाहा, फकिरा महतो, समिर भट्टराईलगायतका नेताहरू सहभागी भएका थिए।



