पर्सा, माघ १२ – लोक तान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्यहरूले जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा, पर्साको बहुदरामाई नगरपालिका वार्ड नं. ०९ निवासी जटा शंकर गुप्ता र वीरगञ्ज वार्ड नं. ०५ निवासी श्रीमती अवस्थित जोशी जसपामा समावेश भएका हुन्।
नवप्रवेशी सदस्यहरूलाई जसपाका केन्द्रीय अध्यक्ष माननीय अशोक कुमार राई सहित अन्य शीर्ष नेताहरूले औपचारिक रूपमा पार्टीमा स्वागत गरे। जसपाका नेताहरूले उनीहरूको पार्टी प्रवेशलाई पार्टी सिद्धान्तप्रति विश्वास र समर्पणको प्रतीक भन्दै स्वागत गरेका छन्।
पार्टीका एक नेताका अनुसार, “गुप्ता र जोशीजस्ता ऊर्जावान युवा र अनुभवी नेताहरूको आगमनले पार्टी संगठनलाई थप बलियो बनाउनेछ। यसले समाज परिवर्तन र समृद्धिको यात्रामा लिएका कदमहरूमा नयाँ उचाइ प्रदान गर्नेछ।”
नवप्रवेशी नेताहरूले जसपाको सिद्धान्त र उद्देश्यप्रति आफू पूर्ण रूपले समर्पित रहेको बताउँदै संगठन निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।



