सर्लाही – सर्लाहीको मलङ्वा नजिकै रहेको भाडसर नाका धान तस्करीको केन्द्रबिन्दु बन्दै गएको छ। भारतको सीमावर्ती गाउँहरूबाट खरिद गरिएका धान मोटरसाइकलमा २/३ बोरा लोड गरी नेपाली भूभागमा भाडसर नाकामार्फत ल्याइन्छ। भाडसरमा थुपारिएको धान ट्रयाक्टरमार्फत ईश्वरपुर, लालबन्दीजस्ता क्षेत्रमा रहेको सेलर मिलमा पुर्याई बेच्ने गरिएको पाइएको छ।
चासोको विषय के छ भने, धान थुपारिएको स्थानबाट करिब १०० मिटरको दूरीमा रहेको प्रहरी चौकी कुनै पनि गतिविधिमा संलग्न नभई मूकदर्शक बनेको देखिएको छ। प्रतिदिन ५–७ ट्रयाक्टर धान तस्करी हुने गरेको आँकलन छ, जसका कारण सरकारलाई लाखौंको राजस्व घाटा भएको छ।
पहिले सीमा क्षेत्रमा रहेका बीओपी शिवनगरका सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी गरे पनि हाल उक्त स्थान सुनसान रहेको छ। सशस्त्र प्रहरी उपरीक्षक विनोद थापाले तस्करी नियन्त्रणका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनुभएको छ।
यसैगरी, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पनि धान तस्करी रोक्न थप प्रहरी परिचालन गरिने जानकारी दिनुभएको छ। तर, हालसम्म प्रशासनको स्पष्ट र प्रभावकारी कदम देखिन सकेको छैन, जसका कारण स्थानीयहरू बीच असन्तुष्टि बढिरहेको छ।



