बागमती प्रदेशमा तस्करीको जालो: डीआईजी कृष्णहरि शर्माको गतिविधिमा प्रधान कार्यालयको निगरानी

काठमाडौं। नेपाल प्रहरीको मुल आदर्श वाक्य “सत्य, सेवा, सुरक्षणम्” भए पनि केही उच्च पदस्थ अधिकृतहरू यस नाराको विपरीत आर्थिक संकलनमा केन्द्रित हुँदै आएका छन्। हाल बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी कृष्णहरि शर्मामाथि यस्तै आरोपहरू लागेका छन्।

डीआईजी बिष्णुकुमार केसीको अवकाशपछि बागमती प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन हुँदा, छवि विवादित रहे पनि आईजीपी बसन्तबहादुर कुँवरले उनलाई बागमती प्रदेशमा सरुवा गरेका थिए। तर, हाल मकवानपुर र चितवनको सीमाक्षेत्र हुँदै गाँजा, सुनचाँदीजस्ता अवैध सामग्रीको तस्करी बढेको छ।

विशेष गरी रातमाटे चेकपोष्ट र लोथर क्षेत्रमा तस्करीका गतिविधि बढिरहेका छन्। चेकपोष्टमा विवादित अधिकृतहरूको काज सरुवा र नियमनमा कमजोरीका कारण यस क्षेत्रमा तस्करीको मात्रा दिनानुदिन बढिरहेको छ। चेकपोष्ट इन्चार्ज सई बृजेश चौधरीका आफन्तसम्म गाँजाको तस्करीमा पक्राउ परेका घटनाहरूले विवाद थप चुलिएको छ।

डीआईजी शर्माको विगत पनि विवादमुक्त छैन। दाङमा एसपी हुँदा उनले कार्यालयमा गरेका क्रियाकलापले प्रहरीको प्रतिष्ठा खस्काएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपी हुँदा उनले घुमुवा असईमार्फत सूर्ती र गुट्खा तस्करीबाट रकम असुल गरेको आरोप लागेको थियो।

यसका साथै, उनलाई आफ्ना विश्वस्त असई र हवल्दारहरूलाई विवादास्पद स्थानहरूमा खटाउने र अवैध गतिविधि सञ्चालन गर्न दबाव दिने गरेको आरोप प्रहरीभित्रै छ। मकवानपुरका एसपी विश्वराज खड्कामाथि उनले विवादास्पद असई राजेश साहलाई सुनाचरी र बसपार्कजस्ता संवेदनशील क्षेत्रमा खटाउन दबाव दिएको स्रोतले जनाएको छ।

डीआईजी शर्माका गतिविधिका कारण गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसम्म उजुरी पुगेको छ। यसै कारण प्रधान कार्यालयले हाल उनलाई निगरानीमा राखेको छ। बागमती प्रदेशमा यस्ता घटनाहरूले प्रहरी संगठनभित्रको आचरण र कार्यशैलीमाथि प्रश्नचिह्न खडा गरेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय