बारा । नेपाल–भारत सीमाक्षेत्रमा राष्ट्रिय अनुसन्धान बिभागका सूचकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र बिभागका प्रमुख (एसपी) को नाम लिंदै व्यापारीहरूसँग धम्क्याएर रकम असुली गर्दै आएको खुलासा भएको छ। सूचकहरूद्वारा व्यापारीहरूमाथि प्रहरी र सशस्त्र प्रहरीको नाममा समेत धम्की दिँदै रकम उठाउने धन्दा व्यापक भएको छ।
बिगत ७ वर्षदेखि राष्ट्रिय अनुसन्धान बिभाग, बारामा कार्यरत सूचक जितेन्द्र यादवले सीडीओ बसन्त अधिकारी र एसपी दीपक खड्काको नाममा व्यापारीहरूसँग मासिक रूपमा ठोस रकम असुल्दै आएका छन्। यादवले व्यापारीहरूलाई तर्साउन कहिलेकाहीं आफूलाई प्रहरी र सशस्त्रको क्राइम शाखाको अधिकारी भन्दै चिनाउने गरेको आरोपसमेत छ।
स्थानीय स्रोतका अनुसार बाराका प्रमुख नाका र बजारहरूमा यादवले व्यापारीहरूसँग निश्चित दररेट तोकेर असुली गर्दै आएका छन्। कवाडी व्यवसाय गर्ने बादशाह अन्सारी, काजु व्यापारी प्रेम र दिलीप, गाईगोरु लैजाने मनोज, कपडा व्यापारी चन्दन यादवलगायतसँग मासिक लाखौं रकम असुल हुने गरेको छ।
यसैबीच, केही महिनाअघि छतवाको बरैनिया बजारमा यादवले पैसा असुल्ने क्रममा स्थानीयहरूले उनलाई कुटपिटसमेत गरेका थिए। तर, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख खड्काको समर्थनमा यादवलाई पुनः असुली कार्यमा खटाइएको गुनासो छ।
राष्ट्रिय अनुसन्धान बिभागका मधेश प्रदेश अनुसन्धान निर्देशक डीआईजी माधव तिम्सिनाकोमा पटक–पटक उजुरी परे पनि हालसम्म कुनै कारबाही भएको छैन। बिभाग गृहमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमातहत गएपछि यस किसिमका गुनासाहरूमा झन् बेवास्ता हुने गरेको व्यापारीहरूको गुनासो छ।
सीमाक्षेत्रका व्यापारीहरूले प्रशासनको यस्तो रवैयाले आफ्नो व्यवसायमा गम्भीर असर परेको भन्दै उच्च तहबाट छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।



