सर्लाही – सर्लाहीको कर्मैया स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा माघ १ गते बिहान १० बजे एक विशेष कार्यक्रम आयोजना गरी ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (TVRS) जडान गरि सञ्चालनमा ल्याइएको छ।
कार्यक्रममा प्रमुख अतिथि रहेका यस कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले प्रणालीको औपचारिक शुभारम्भ गरेका थिए। साथै, कार्यक्रममा स्थानीय सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन जानकारीमूलक पर्चा तथा पम्पलेट वितरण गरिएको थियो।

कार्यक्रमको क्रममा सडक प्रयोगको सुरक्षित तरिका, सवारी दुर्घटना रोकथामका उपाय, ट्राफिक नियम उल्लंघन गरेमा लाग्ने जरिवाना, र TVRS प्रणालीको उपयोगिता सम्बन्धमा जानकारी दिइयो।
TVRS प्रणाली जडान भएपछि अब ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरूको अभिलेख दुरुस्त राख्ने र सजिलै नियमन गर्ने सुविधा उपलब्ध हुनेछ। ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजातहरू सोही अस्थायी ट्राफिक पोष्टबाट फिर्ता दिने व्यवस्था समेत गरिएको छ।

साथै, यो प्रणालीले ट्राफिक नियम उल्लंघनमा कमी ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न, र सडक प्रयोगकर्तालाई थप अनुशासित बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।



