सर्लाहीमा अपहरण प्रकरण: बालक बन्धक बनाउने तीन आरोपी पक्राउ, हतियार बरामद

सरोज यादव । सर्लाही – जिल्ला प्रहरी कार्यालय सर्लाहीले अपहरणमा परेका १५ वर्षीय भारतीय बालकलाई सकुशल उद्धार गर्दै तीन जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ। पुस २८ गते राति करिब १ बजे बालकलाई बन्धक बनाइ राखिएको सूचना पाएपछि, प्रहरीले विशेष निगरानीका साथ ब्रह्मपुरी गाउँपालिका–४ स्थित नेपाल-भारत सीमा क्षेत्रमा उद्दार अभियान सञ्चालन गरेको थियो।

प्रहरीले घटनास्थलबाट रामजी साह, विक्रम पासवान (दुवै ब्रह्मपुरी गाउँपालिका-४ निवासी) र प्रवचन साह (भारत बिहार मुसहर्निया निवासी) लाई पक्राउ गरेको छ। अभियुक्तहरूको साथबाट कटुवा पेस्तोल १ थान, २ राउन्ड गोली, धारिलो हतियार, मोबाइल फोन, र भारतीय नम्बर प्लेटको BR06BT2850 मोटरसाइकल बरामद गरिएको छ।

बालकको उद्धारलाई प्रहरीका लागि ठूलो सफलता मानिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार, पक्राउ परेका अभियुक्तहरूमाथि थप अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ।

सर्लाही प्रहरीको सतर्कता र प्रभावकारी कारबाहीले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधिहरू नियन्त्रणमा प्रभावकारी योगदान पुर्‍याएको जनाइएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रहरीको प्रतिबद्धता रहेको पनि उनले बताए।

प्रहरीको तर्फबाट सबैलाई आग्रह
नेपाल-भारत सीमामा यस्ता घटनाहरूको रोकथामका लागि प्रहरीलाई समयमै सूचना दिन सबैलाई आग्रह गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय