सरोज यादव । सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका-५, बैजनाथमा मापसे चेकजाँचको क्रममा गएराति प्रहरी र स्थानीयबासिन्दाबीच तनाव उत्पन्न भएपछि प्रहरीले पाँच राउन्ड गोली चलाएको छ। मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी सुवास बोहोराका अनुसार इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख उज्वल कार्कीको नेतृत्वमा मापसे चेकजाँच भइरहेको थियो।
प्रहरीको भनाइअनुसार, मादक पदार्थ सेवन गरेका केही युवाले झगडा सुरु गरेपछि स्थिति जटिल बनेको थियो। उक्त घटनामा वडाध्यक्ष श्रीनन्दन यादवले नेतृत्व गरेको १५० जनाको समूह चौकी घेराउ गर्न पुगेको थियो। वडाध्यक्ष यादवमाथि पनि मादक पदार्थ सेवन गरेर प्रदर्शनको नेतृत्व गरेको आरोप लागेको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रदर्शनकारीले प्रहरीको गाडीमाथि आक्रमण गरेका थिए। जवाफमा प्रहरीले गोली चलाएको बताइएको छ। घटनामा केही स्थानीय र प्रहरी हवल्दार शैलेन्द्र राय यादव घाइते भएका छन्। हवल्दार यादवको टाउकोमा चोट लागेको र उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।



