काठमाडौं । क्यानडा,जापान, पोर्चुगल लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति बरहथवाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ भेल्हीका ३९ वर्षीय संजयकुमार यादव रहेका छन् । उनलाई प्रहरीले दशै अघि नै पक्राउ गरेको थियो ।
पक्राउ परेका यादवले गाउँमा रहेका युवाहरुलाई विदेश पठाइदिने भन्दै प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म उठाउने गरेका थिए । उनले युवाहरुलाई सर्लाहीमा गैरकानुनी रुपमा खोलिएको मल्टीपल इन्स्टीच्युट अफ कम्युनिकेशन एजुकेशन कन्सल्टेन्सीमार्फत कामदार भिसामा विभिन्न देशहरुमा आकर्षक पारिश्रमिकमा पठाउने आश्वासन दिने गरेका थिए।
यादवले पिडितहरुको रकम उक्त कन्सल्टेन्सीमा अध्ययन गराउने भनिने राजकिशोर प्रसाद कुसवाहको नाममा रहेको विभिन्न बैंकहरुमा जम्मा गराउने गरेका थिए । पिडितका अनुसार राजकिशोर प्रसाद कुसवाह, उनकी श्रीमती र संजयकुमार यादव मिलेर करोडौँ ठगी गरेका हुन् । ‘संजय यादवले अनेक आश्वासन दिलाएर युवाहरुलाई कन्सल्टेन्सीसम्म लग्ने गरेका थिए, कन्सल्टेन्सीमा अध्यनन गराउने भनिने राजकिशोर प्रसाद कुसवाह र उनकी श्रीमतीको बैंक खातामा रकम जम्मा गराउने र नक्कल डकुमेन्ट बनाएर हामीलाई विश्वास दिलाउने गरेका थिए ।’ पिडितले तीनघुम्तीलाई बताए।
पीडितहरुसँग पैसा लिएपछि यादव सम्पर्कबिहीन बनेका थिए । सम्पर्क भइहाले अनेक वाहाना बनाउँदै आजभोलि नै विदेश पठाइदिने भन्दै आश्वासन दिने गरेका थिए । पिडितहरुले यादव र कुसवाहविरुद्ध वैदेशिक रोजगार विभाग, ताहाचलमा ६ महिनाअघि जाहेरी दिएका थिए।
पीडितहरुले नै यादवलाई सर्लाहीको बरहथवा बजारस्थित नयाँ नेपाल बैंक चौकबाट नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका थिए।
प्रहरीका अनुसार विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेको आरोपमा ऊनीमाथि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पक्राउपुर्जी जारी भएको थियो। उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म लिएर पौने २ करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।
३घुम्ती बाट साभार



