सरोज यादव । असोज १०, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । अन्दाजी २५ वर्षीय धिरेन्द्र रायले श्रीमती २२ वर्षीया चित्ररेखा को हत्या गरेका हुन् । गोली लागेर उनका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई बाँया हातमा गोली लागेको प्रहरीले जनाएको छ ।
घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । बुवा र श्रीमतीलाई गोली हानेर फरार भएका धीरेन्द्रको खोजी भइरहेको प्रहरी चौकी हरिपुर्वाले जनाएको छ । श्रीमतीको हत्यापछि अहिले उनी फरार छन् ।
बिहिबार राति कोठामा सुति रहेको अवस्थामा श्रीमतीलाई हत्या गरेको र मृत श्रीमती छोडेर उनी फरार भएका छन् । धिरेन्द्र रोजगारको शिलशिलामा भारत बिहारको सीतामढीमा बस्दै आईरहेका थिए ।
धिरेन्द्र बुधबार राति वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । चित्रलेखाको टाउकोमा गोली लागेको छ भने बुबा दिनेशको दाहिने हातमा गोली लागेको छ ।
घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ । गोली हान्ने व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले गोली हानेर भागेका धीरेन्द्रको खोजी भइरहेको जनाएको छ । गोली लागेर घाइते भएका दिनेशको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनायो । मृतक चित्रलेखाको शव भने पोष्टमार्टमका लागि लैजाने तयारी प्रहरीले गरेको छ ।



