मोरङको पूर्वीनाका तस्करको स्वर्णभूमि, प्रहरी र सशस्त्रका एसपीका घुमुवाको असुली आतंक

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले पदबहाली गरेपछिको पहिलो पत्रकार सम्मेलनमा सादा पोशाकमा घुमुवा नखटाउने प्रतिबद्धता जनाएका थिए । १ फागुन २०८० मा मोरङमा सरुवा भएका कार्कीले १३ दिनपछि १४ फागुन, २०८० मा गरेको पहिलो पत्रकार सम्मेलनमा सादा पोशाकमा घुमुवा नखटाउने प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता बिपरीत उनले घुमुवा परिचालन गरेको आरोप छ । र, उनले परिचालन गरेका घुमुवाले तस्करीको लाइन चलाउँदै मासिक दररेट अनुसार घुस असुली गर्दैआएका छन् ।
एसपी कार्कीले सोझै जिल्ला प्रहरी कार्यालयबाट घुमुवा नराखी घुमाउरो बाटोबाट मातहतका कार्यालयबाट परिचालन गरेको स्रोत बताउँछ । मोरङको पूर्वी क्षेत्रको मुख्य सीमा नाकाहरु हेर्ने इलाका प्रहरी कार्यालय रंगेलीबाट उनले प्रहरी नायब निरीक्षक (सई) भुवन श्रेष्ठको नेतृत्वमा घुमुवा परिचालन गरेका छन् । रंगेली क्षेत्रका मुख्य सीमा नाका हुन् रंगेली, डुमरिया र सिजुवा ।
यी तीनै क्षेत्रबाट चिनीको बढी तस्करी हुँदैआएको छ । चिनीदेखि हार्डवेयर, किराना लगायतको तस्करी पनि हुने गरेको छ । एसपी कार्कीले रंगेलीमा काजमा राखी घुमुवाका रुपमा श्रेष्ठको नेतृत्वमा ३ जनालाई घुमुवा खटाएका छन् । सई श्रेष्ठ मोरङमा ७ बर्षदेखि घुमुवा बसेका र तस्करीको संजालबारे अनुभवी मानिन्छन् । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय धनकुटा हो ।
डीआईजी राजेश बाँस्तोलाको कार्यकालमा उनका र एसपीका पनि घुमुवाका रुपमा परिचालित श्रेष्ठको बारेमा आईजीपी बसन्तबहादुर कुँवरकोमा गुनासो पुगेको थियो । गुनासोपछि आईजीपी सचिवालयको निर्देशनमा उनको काजसरुवा संखुवासभा जिल्ला प्रहरी कार्यालयमा भएको थियो । ३–४ महिना संखुवासभा दरबन्दी राखे पनि त्यहाँका डीएसपीलाई भनेर बास्तोलाले मोरङमै राखेका थिए । बास्तोला सरुवा भएपछि पुरानो मिति राखेर श्रेष्ठले धनकुटामा सरुवा मिलाएका थिए । केही महिनादेखि उनलाई धनकुटाबाट फेरि काजमा मोरङको रंगेली ल्याइएको छ । अनुभवी भएकाले श्रेष्ठलाई रंगेलीमा काजमा ल्याएर घुमाउरो बाटोबाट एसपी कार्कीले घुमुवाका रुपमा परिचालन गरेका छन् ।
रंगेलीका तीनवटै नाकाबाट चिनीको तस्करीका बादशाह हुन् मनु साह । मनु साह प्रहरी, सशस्त्र र भन्सार सेटिङ गर्ने र तस्करीको काम भने श्रवण साहले गर्ने गरेका छन् । मनुले सबैतिर सेटिङ मिलाउने र श्रवणले कहिले ट्रकमा त कहिले मिनीट्रकमा चिनी पारीबाट नेपालतर्फ भन्सारछली गरी भित्र्याउने गरेका छन् । मनु साहले सशस्त्र प्रहरी मिलाउनका लागि ३ नम्बर गण मोरङका एसपी विश्व खड्काले खटाएका सई सुवास गिरीलाई मिलाउने गरेका छन् । । बेसमा खटाएको देखाए पनि सई गिरी मोरङको ३ न गणका एसपी विश्व खड्का र बराह बाहिनीका डीआईजी शम्भु सुवेदीको समेत विश्वासमा मनु साह र विनोद केसरीलाई लाइन दिइरहेका छन् ।
चिनीको मुख्य कारोबार गर्ने मनु र श्रवणले कपडा, हार्डवेयर, किराना सामान ल्याउनेहरुको पनि प्रहरी र सशस्त्र मिलाउने काम गर्दैआएका छन् । साह बन्धुलाई तीनवटै नाकाको डिल गर्नेगरी नेपाल प्रहरीका भुवन श्रेष्ठ र सशस्त्रका सुवास गिरीले जिम्मा दिएका छन् । मनु साहले सशस्त्रका एसपी खड्कासँग साला भेनाको नाता लगाउँदै सम्बोधन गर्ने गरेको स्रोत बताउँछ । चिनीको मात्रै महिनाको १० लाखमा डिल गरी मिलाइएको स्रोतको दाबी छ ।
बीचमा तस्करीको लाइन दिएकोमा धेरै गुनासो आएपछि सशस्त्र प्रहरीको ३ नम्बर गण मोरङका एसपी खड्का तानिएका थिए । तर चिनी तस्करी गर्ने मनु साहले नै शक्तिकेन्द्रमा खर्च गरी उनलाई पुनः फर्काउन सफल भएका थिए । खड्कालाई पुनः ३ नम्बर गणमै फर्काउन मनुले मुख्यालयका ज्ञवाली थरका एसएसपीलाई १० पेटी खर्च गरेको हल्ला समेत मोरङमा चलेको थियो ।
एसपी खड्का २०८१ असार अन्तिममा हेडक्वार्टर तानिएका थिए । तस्करीको लाइन चलाएर अवैध असुली गरेको आरोपमा तानिएका उनी २०८० फागुन पहिलो साता मोरङ हाजिर भएका थिए । मोरङमा गएपछि तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको आरोप उनलाई लागेपछि तानिएा थिए । भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि खड्कामाथि लागेको थियो । यति गम्भीर आरोपमा तानिएका खड््का एक महिनामै गएको साउनमा पुनः मोरङमा फर्काउन तस्कर मनु नै लागेका थिए ।
३ महिना अघि भारतबाट गाडीमा तस्करी गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सार छली गरेर ल्याइएको उक्त चिनी विराटनगरका व्यापारी विनोद केशरीको थियो । बरामद गरिएको चिनी र नियन्त्रणमा लिएको गाडी एसपी खड्काले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउनुपर्ने थियो । तर, केशरीसँग मोटो रकम लिएर त्यत्तिकै छाडिदिएका थिए । किराना सामानको व्यापार गर्ने केशरीले प्रहरी र सशस्त्रसँग मिलेर तस्करीको धन्दा चलाउँदैआएका छन् । पुनः मोरङ फर्किएपछि पनि एसपी खड्काले तस्करीको लाइन चलाउन नछाडेको स्रोत बताउँछ । नेपाल फेस

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय