एसपी सरुवा तयारी, आकर्षक जिल्लाका लागि चर्को दौडधूप

काठमाडौं । नेपाल प्रहरीभित्र दसभन्दा बढी जिल्लाका एसपी सरुवाको गृहकार्य सुरु भएको छ । एक बर्ष अवधि पुगेका र कतिपय कार्यक्षमतामा प्रश्न उठेका जिल्लामा एसपी सरुवा गर्ने तयारी भइरहेको छ ।

दस जिल्लाका लागि २५ भन्दा बढी एसपीको दौडधूप र शक्तिकेन्द्रमा धाउने क्रम बढेको छ । सुनसरी, सप्तरी, मकवानपुर, कास्की, रुपन्देही, कपिलवस्तु, पूर्वी नवलपरासी, दाङ, बाँके जस्ता जिल्लाका एसपीको १ बर्ष पुगिसकेको छ । सिरहा, धनुषा, सर्लाही, बाराजस्ता जिल्लाका एसपीको कमाण्ड कन्ट्रोल प्रभावकारी र आर्थिक पारदर्शीता नदेखिएपछि त्यहाँ पनि परिवर्तन गर्न लागिएको बताइन्छ ।

एसपीहरु ढकेन्द्र खतिवडा, कोमल शाह, अर्जुन तिमल्सिना, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे चलखेलमा लागेका छन् ।

सुनसरी, रुपन्देही, कास्की, कपिलवस्तु, मकवानपुर जस्ता जिल्लाका लागि एसपीहरुबीच कडा प्रतिस्पर्धा चलेको छ । सुनसरीका लागि हाल बजेट शाखामा कार्यरत ढकेन्द्र खतिवडाले कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडामार्फत् लबिङ गरिरहेका छन् । मकवानपुरको एसपीका लागि कर्मचारी प्रशासन शाखाका अर्जुन तिमल्सिनालाई पठाउने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको छ । तर मकवापुरका सांसद तथा एमालेका प्रमु्ख सचेतक महेश बर्तौलाले अर्कैको नाम लिएका छन् । मकवापुरमा जान कांग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट कोमल शाहले पनि चाहना राख्दा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

कास्कीको एसपीमा जान सुवास बोहरा लागेका छन् । उनलाई काीकीमा लैजान बिचौलिया नवीन बस्नेत बालुवाटारसम्म कनेक्सन मिलाइरहेका छन् । उनलाई यसअघि बाँकेको एसपी हुँदा कार्यक्षमता देखाउन नसकेको भन्दै वर्तमान आईजीपी बसन्तबहादुर कुँवरले नै तानेका थिए । त्यसो त कास्कीमा जान बोहराले राष्ट्रपति कार्यालयबाट पनि उत्तिकै भिटो लगाइरहेका छन् ।

एसपीका लागि पर्सापछिको आकर्षक मानिने रुपन्देहीका लागि सन्तोष तामाङ लागेका छन् । रक्तचन्दनदेखि भेपको तस्करीका बादशाह दिपेश चालिसेले उनलाई रुपन्देहीमा लानेगरी तारतम्य मिलाइरहेको स्रोत बताउँछ । तामाङ रसुवाको डीएसपी हुँदादेखि नै चालिसेसँग घनिष्ठता बढेको हो । तामाङ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ समेत रहेकाले रुपन्देही जाने कुरामा ढुक्क देखिन्छन् ।

तामाङले ललितपुरको झम्सीखेलमा बंगला र भक्तपुरमा करिब ७० आना उनले श्रीमतीको नाममा जोडेको भन्दै आलोचित छन् । तामाङले श्रीमतीको नाममा कम्पनी खोलेर जग्गाको कारोबार गर्दै आएको आरोप समेत खेप्दैआएका छन् । जुन जग्गाको कमिसनको विवाद भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडाध्यक्षसम्म पुगेको छ ।

कपिलवस्तुको एसपीमा राजन लिम्बुको नाम छ । उनी पनि यसअघि प्रधानमन्त्री ओलीको पीएसओ भइसकेका अधिकृत हुन् । पूर्वीनवलपरासीमा सरुवा हुने एसपीमा यादव ढकालको नाम छ ।

सिरहाका एसपी रमेश पण्डित, बाराका रविन्द्रबहादुर सिंह, धनुषाका भुवनेश्वर तिवारी, बाराका महेन्द्र खड्का, दाङका रामबहादुुर केसी, बाँकेका तुलबहादुर कार्कीले पनि क्षमता देखाउन नसकेको भन्दै आईजीपी कुँवर उनीहरुलाई कायम राख्ने पक्षमा नभएको स्रोत बताउँछ ।

एसपी पण्डितले पाल्पामा डीएसपी हुँदा एक सेवाग्राहीसँग पोखरा सराङकोट केवलकारको सेयर मिलाइदिन्छु भने रकम र स्कारपियो गाडी लिएको र फिर्ता नदिएको उजुरी प्रहरी हेडक्वाटरमा पुगेको छ । उक्त उजुरी परेको थाहा पाएपछि उनले ५० प्रतिशत रकम फिर्ता गरे पनि अझै आधा बाँकी रहेको छ भने गाडी त उनले अर्कैलाई बिक्री गरिसकेका छन् । कागजपत्र भने ती सेवाग्राहीसँगै रहेको छ । उनी राष्ट्रपति पौडेलको गृहजिल्ला तनहुँका हुन् । त्यही नाताले पनि उनी सिरहामा सरुवा भएका थिए । सर्लाहीका सिंह आईजीपी सचिवालयमै अधिकांश समय बिताएकाले कमाण्ड कन्ट्रोलमा कमजोर देखिएका र धनुषामा फितलो शान्तिसुरक्षाका कारण तिवारी पनि तानिने सूचीमा छन् । नेपाल फेस

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय