काठमाडौं । मधेश प्रदेशको प्रमुखमा १८ महिनासम्म काम गरिसकेका डीआईजी गणेश ठाडामगरलाई सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले फेरि गढीमाई बाहिनी बागमती प्रदेशमा सरुवा गरेपछि उनले कानुनबिपरीत चेक प्वाइन्ट राखेर ब्यापारीहरुलाई हैरानी दिने र लाभ लिने बाटो अपनाएका छन् । सशस्त्र प्रहरी बलको कार्यक्षेत्र सीमाको सुरक्षा हो ।
सीमाबाट हुने भन्सारछली र अपराध नियन्त्रणको काम सशस्त्रले गर्ने गर्दछ । तर डीआईजी ठाडामगरले कानुन बिपरीत राजमार्गमा चेकिङ राखेका छन् । उनले सिन्धुलीको खुर्कोट र मकवानपुरको रातमाटेभन्दा १ किलोमिटर बारातर्फको जंगलमा चेकिङ प्वाइन्ट राखेका छन् ।
खुर्कोटको बाटोबाट पूर्वका मेची, बिराटनगर, सप्तरी, सिरहा, धनुषा, महोत्तरीका नाकाबाट काठमाडौंमा गाडीमा सामान जान्छ । पर्सा, बारा, रौतहट र सर्लाहीबाट मालबाहक ट्रक रातमाटे हुँदै जाने गर्दछन् ।
बामगती प्रदेशको डीआईजी भए पनि ठाडामगरले राजमार्गका यी दुई ठाउँमा चेकिङ राखेर कोशी र मधेशबाट सामान ओसारपसार गर्नेहरुबाट लाभ लिन खोजेको आरोप लागेको छ । सशस्त्र प्रहरीका एक उच्च अधिकृतले भने–द्वन्द्वकालमा सरकारको अनुमति लिएर राजमार्गमा चेकिङ प्वाइन्ट राखिएका थिए । द्वन्दकालबाट हटाइएका चेकिङ प्वाइन्ट अहिले कानुन बिपरीत अबैधानिक रुपमा राखिनुको उद्देश्य भन्सारछली रोक्ने भन्दा पनि त्यसको हिस्सा लिनेमात्र देखिन्छ ।
खुर्कोट र रातमाटेमा चेकपोष्ट राखिएकोबारेमा डीआईजी ठाडामगरसँग प्रतिक्रियाका लागि बिहीबार पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
मधेश प्रदेशमा पनि ठाडामगरले सादा पोशाकमा घुमुवा राखी अथाह लाभ लिएको आरोप लागेको थियो । मधेश प्रदेशमा ठाडामगरले इमाम मियाँ ठकुराई लगायतका घुमुवा राखी अतिरिक्त असुली गरेको आरोप लागेको थियो ।
मधेश प्रदेशमा बिवादमा परेका इमाम मियाँलाई सशस्त्र प्रहरी बलले इलामको १ नम्बर गणमा सरुवा गरेको छ । तर उनी पर्सा र बारामै अधिकांश समय ब्यापारीहरुसँग डिल गर्न ब्यस्त रहेको स्रोत बताउँछ । डीआईजी ठाडामगरले १ नम्बर गणका गणपति एसपी प्रदीप खड्कालाई मियाँलाई स्पेशल टास्कफोर्समा राखेर काम गर्न लगाएको छु, बिदा पठाइदिनू भनेकाले उनले प्रायः इलाममा भन्दा पनि पर्सा र बारामै रहने छुट पाएका छन् । डीआईजीले भनिसकेपछि सहायक हवल्दार दर्जाका सशस्त्र प्रहरीलाई उनले सहजै बिदा दिने गरेका छन् ।
डीआईजी ठाडामगरले बागमती प्रदेशमा सरुवा भइसकेपछि मधेशको घुमुवा बसी अनुभव हासिल गरेका जवान रविकान्त मिश्रलाई १४ नम्बर गण हेटौंडामा दरबन्दी राखी बाहिनीबाट सादा पोशाकमा मधेश प्रदेशतिर परिचालन गरेका छन् । डीआईजी ठाडामगरकै योजनामा मियाँले पर्सा र बाराका ब्यापारीलाई समन्वय गरी मिश्रसँग भेट गराउने गरेका छन् ।
डीआईजी ठाडामगरले राखेका अवैधानिक चेक प्वाइन्टबाट सामान ओसारपसार गर्ने ब्यापारीसँग डिल गर्न बीपी राजमार्गमा सहायक हवल्दार रोशन मिश्रलाई जिम्मा दिएको स्रोत बताउँछ । मिश्र ठाडामगर मधेश प्रदेशमा गएदेखि नै सादा पोशाकमा मधेश प्रदेशमा कार्यरत रहेका थिए । मिश्र मधेश प्रदेशमा कार्यरत रहेकोे समयमा घुमुवा अप्रेसनमा परी सरुवा भएका थिए । ठाडामगर बागमतीमा गएपछि फेरि उनको खुबी देखेर फेरि परिचालन गरिएको छ । मिश्रलाई मधेशमा लामो समय बसेकाले तराईको सबै तस्करीको नेटवर्क जानकारी भएकाले पनि राखिएको बताइन्छ ।
गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा घुमुवा नराख्न परिपत्र गरेको भए पनि बागमती प्रदेशका सशस्त्र प्रहरी प्रमुखले क्षेत्रमा मात्र होइन, क्षेत्राधिकार नाघेर मधेशमा समेत पठाएर ट्रान्सपोर्टहरुबाट समेत रकम उठाउने गरेको आरोप छ ।
मधेश प्रदेशमा डीआईजीका घुमुवा भएर इमाम मियाँले ब्यापारीहरुबाट रकम उठाएको उजुरी प्रधानमन्त्री कार्यालयको हेलो हेलो सरकारमा उजुरी परेपछि डीआईजनी कमल गिरीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तर गिरीले डीआईजी ब्याचमेन्ट भएकाले समितिमा बस्न अस्वीकार गरे ।
गिरीले अस्वीकार गरेपछि अर्का डीआईजी किशोर प्रधानको अध्यक्षतामा छानबिन समिति बनाइएको थियो । तर प्रधानले ठाडामगरलाई मात्र होइन, इमामलाई समेत जोगाउने प्रतिवेदन दिएका थिए । सशस्त्र मुख्यालयको नीतिबिपरीत घुमुवा परिचालन गरेकोबारेमा नेपालफेस डटकमको फोन नम्बरबाट डीआईजी ठाडामगरसँग प्रतिक्रिया लिनका लागि बिहीबार पटक–पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाह्ेनन् । नेपाल फेसबाट



