मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिकामा २४ हजारबढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने स्वास्थ्य शाखा बसबरियाले जनाएको छ। आज (आईतबार) पालिकाको सभाहलमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान अन्तर्गत पालिकास्तरिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उक्त कुरा बताएको हो ।
राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत यही वैशाख १६ गतेबाट २९ गतेसम्म सञ्चालन हुने अभियानमा दुई वर्ष उमेर समूह भन्दा माथिका, गर्भवती, सुत्केरी भएको एक हप्ता नभएका आमा, सिकिस्त बिरामीहरु बाहेकका पालिका भित्र रहेका २५ हजार ९ सय ४० मध्ये २४ हजार ७ सय २५ जनालाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाउन लागिएको हो।
स्वास्थ्य शाखा बसबरियाका उप-प्रमुख विजय यादवका अनुसार हात्तीपाइलेबिरुद्धको औषधि खुवाउन पालिकामा ८५ जना स्वास्थ्यकर्मी खटाईने छ। साथै, पालिकाका प्रत्येक वडामा औषधि बितरणका लागि केन्द्रहरुसमेत राखिने छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, पालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, पालिका भित्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत पत्रकारहरुको सहभागिता रहेको थियो।



