सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बजेट पारित गरेको छ। बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन।
स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र बजेट एकैसाथ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले बताए।
‘जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन’, प्रमुख अधिकृत सापकोटाले भने, ‘लामो समयपछि राजनीतिक सहमति जुटेपछि नीति तथा कार्यक्रम र बजेट दुवै पारित भएको हो।’
गाउँसभाले चालु आर्थिक वर्षका लागि ५० करोड ८७ लाख ८८ हजार नौ सय ८० बराबरको बजेट ल्याएको थियो। बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिलालगायतको बजेट पारित नहुँदा सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन्। विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प भएका छन्।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अब भने तलब, भत्ता, कार्यक्रम, योजना सबै नियमित चल्ने जानकारी दिए।
पटक-पटक गाउँसभाको बैठक बस्ने प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा बजेट पारितमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवले बताए।



