काठमाडौं । अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहले आफूलाई जबरजस्ती करणी गरेकोले न्यायालयसम्म पुग्न सयोग मागेकी नाबालिका गायिकालाई सघाएको कारण अधिकारवादी किशोरी जश्मिन ओझा आफैं पनि जाहेरी दिनु पर्ने अवस्थामा पुगेकी छिन् । पीडितको पक्षमा माहोल बनाउन निरन्तर लागि परेका पलका समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ता र युट्युबरहरुले आफ्नो चरित्रहत्या गरेको भन्दै जश्मिनले शुक्रबार नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुक तथा युट्युब लगायतका माध्यमबाट आफू विरुद्धका सामाग्री प्रकाशन र प्रसारण हुने अनि त्यस्ता भ्रामक सामाग्रीमा अश्लिल प्रतिकृयाहरु आउने क्रम झन् बढेपछि ओझाले प्रहरी गुहारेकी छिन् । उनीमाथि डलरका लागि कथित पीडित बनाएर बालिकालाई उचालेको र शाहलाई फसाएको भन्दै पलका समर्थकहरुले गाली गर्ने गरेका छन् । ओझाले कुनै व्यक्तिगत सामाग्री फेसबुकमा लेखे पनि उनलाई गालीको वर्षा हुने गरेको छ ।
पीडित भनिएकी बालिका र उनका बाबुले समेत अदालतमा बकपत्र गर्दा बयान फेरेपछि अझ ओझामाथि प्रहार बढेको छ । अधिकारवादीको आवरणमा ओझाले गरेको षड्यन्त्रमा लागेर पहिले बालिका र उनका बाबुले झुटो जाहेरी दिएर फसाएको र अहिले बल्ल सत्य बोलेको भन्दै युट्युबरहरुले एक प्रकारको ह्विम चलाई रहेका छन् । उनीहरु सत्यको जीत हुन्छ भन्दै पलको पक्षमा सामाजिक सञ्जाललाई तताइ रहेका छन् ।
तनहुँ जिल्ला अदालत र नवलपुर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्धामा पीडितले बयान फेरेको भएता पनि कानून नमर्ने दृढता ओझामा रहेको छ । अदालतमाथि आफू पूर्ण विश्वस्त रहेको भनाई उनको छ । आफू पीडितसँग जोडिएकोदेखि अहिलेसम्म सबै प्रमाणहरु सुरक्षित रहेकोले आवश्यक पर्नासाथ सार्वजनिक गर्ने तयारी समेत ओझाको छ ।
न्युज हाउस नेपाल बाट साभार



