एसपी यादव/सर्लाही, चैत ४ गते । प्रेम र सद्भावको रङ्गिन पर्व होलि तथा मुस्लिम समुदायको शबे-बारात पर्वको शुभ अवसरमा बिहीबार ब्रह्मपुरी गापाको वडा नं. १, २ र वडा नं. ७ मोहनगंजमा जनता समाजवादी पार्टी, नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका शिर्ष नेता एवं संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, जसपा पार्टी जनताको जनअधिकार प्राप्ति, रक्षा, जनताको विकास र समृद्धिको लागी निर्माण भएको देशकै ठुलो वैकल्पिक पार्टी भएको उनले बताएका छन् ।
तोकिएकै मितिमा स्थानीय तहको चुनाव हुने र त्यसका लागि तत्काल तयारीमा जुट्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । पार्टी एकढिका भएर चुनावमा होमिएको समेत उनले बताए ।
मलखादको समस्या अन्तर्राष्ट्रिय समस्या भएको बताउदै उनले भने, रासायनिक मल आपूर्तिका लागि नेपाल सरकार र भारत सरकारवीच आगामी पाँच वर्षका लागि सरकार देखि सरकार विधिवाट मल खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको र थप प्रक्रियालाई मन्त्रालयले प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनले जनाए ।

भाइचारा, मेलमिलाप, प्रेम र सद्भावको रङ्गिन पर्व होलि तथा मुस्लिम समुदायको शबे-बारात पर्वको अवसरमा सम्पुर्ण जनसमुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक सद्भावमा कुनै प्रकारले खलल नपुग्ने गरि सौहार्द्पुर्ण वातावरणमा पर्व मनाउन वहाँले स्थानीय जनताहरुसंग अपिल समेत गर्नुभयो ।
मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता जसपा नेता सुनिल साहले गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका पुर्व उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।



