भारतसँग रासायनिक मल खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर

एसपी यादव/काठमाडौ, फागुन १६ गते । कृषी तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै रासायनिक मल आपूर्ति सम्बन्धमा नेपाल सरकार र भारत सरकारवीच आगामी पाँच वर्षका लागि सरकार देखि सरकार विधिवाट रासायनिक मल खरिदका लागि समझदारी पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको समुपस्थितीमा भर्चुअल विधिवाट हस्ताक्षर तथा समझदारी पत्र आदान प्रदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

 

मन्त्रालयका सह-सचीव एवं प्रवक्ता समेत रहेका प्रकाश कुमार सन्जेलद्वारा जारी गरिएको प्रेस विज्ञप्ती अनुसार, समझदारी पत्रमा नेपाल सरकारको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र भारत सरकारको तर्फवाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका हुन् । सो समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको पनि उपस्थिती रहेको थियो ।

 

समझदारी पत्र अनुसार भारत सरकारले ५ वर्षका लागि नेपाल सरकारलाइ युरिया र डिएपी मल Import Parity Price (IPP) मा उपलब्ध गराउने भएको छ । आ. व २०७८/०७९ मा युरिया १ लाख र डिएपि ५० हजार मेट्रीक टन, आ. व २०७९/०८० मा युरिया १ लाख १० हजार र डिएपि ६० हजार मेट्रीक टन, आ. व २०८०/०८१ मा युरिया १ लाख १५ हजार र डिएपि ८० हजार मेट्रीक टन, आ. व २०८१/०८२ मा युरिया १ लाख २० हजार र डिएपि ९० हजार मेट्रीक टन र आ. व २०८२/०८३ मा युरिया १ लाख २० हजार र डिएपि ९० हजार मेट्रीक टन रासायनिक मल आयात हुनेछ ।

 

सिंहदरबार स्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित उक्त भर्चुअल कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, नेपाल र भारत बिच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको उनले बताएका छन् ।

 

सदियौं देखि स्थापित सम्बन्ध घनिष्ठ र बहुआयामिक रहेको बताउदै मन्त्री यादवले भने, एक अर्कासंग राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक संलग्नताहरु स्पष्ट रहेको र सो ऎतिहासिक सम्बन्धलाई औपचारिक रुपमा दुई देशले १७ जुन १९४७ मा कुट्नितिक सम्बन्ध स्थापना गरि यसलाई थप बलियो बनाउने बाटो तय गरेको उनले जनाए ।

 

मन्त्री यादवले भने, दुई देशका सरकार प्रमुखहरुको विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणहरु र अन्तरसम्वाद दुई देशबीचको विशेषता हो । साथै त्यस्ता भ्रमणहरुले दुई देशबिचको सद्भाव, विश्वास, समझदारी र सहयोगलाई प्रवर्द्धन गर्न मद्दत गर्नुका साथै परिपक्व तथा व्यवहारिक आधार प्रदान गरि थप सुदृढ गर्न सहयोग गरेको उनले बताए ।

 

कार्यक्रममा भारतको रसायन तथा मलखाद मन्त्रालयका सचिव चतुर्वेदी र कृषि मन्त्रालयका सचिव शर्माले नेपाल भारत सम्वन्धका विभिन्न आयामहरु वारे प्रकाश पार्दै यस समझदारीले दुइ देशको परस्पर सम्बन्ध थप प्रगाढ गर्न मद्दत मिल्ने विचार व्यक्त गरेका थिए ।

 

समझदारीमा उल्लेख भए बमोजिम दुवै देशको तर्फबाट संयुक्त संचालन समिति गठन गरि रासायनिक मल आपूर्तिका लागि छिट्टै प्रक्रिया शुरु गरिने दुवै पक्षवाट जानकारी गराइएको कृषि मन्त्रालयले जनाएको छ ।

नया दैनिक बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय