एसपी यादव | काठमाडौ, पुष २१ गते | सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि उखुको मूल्य निर्धारण गरेको छ |
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरीद मूल्य प्रति क्विन्टल ५ सय ९० रुपियाँ निर्धारण गरेको कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले जानकारी गराएका छन् |
मन्त्री यादवका अनुसार, उखुको न्यूनतम समर्थन मूल्य तोक्ने सम्बन्धी प्रस्ताव तयार गरेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको २ हप्ता पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पेश गरेपछि मुल्य निर्धारण भएको उनले जनाएका छन् |
गत वर्षको तुलनामा यस वर्ष प्रति क्विन्टल ४५ रुपैयाँ ६७ पैसा मूल्य बढेको हो |
गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो |
यसैगरी, सरकारले भारतबाट जीटुजीमार्फत १ लाख ५० हजार मेट्रीक टन मल खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि भारतसँग सम्झौता गर्ने निर्णय समेत गरेको मन्त्री यादवले बताएका छन् |



