पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ खोरिया टोलमा आइतबार पैदलयात्रीलाई ठक्कर दिएर भाग्नेक्रममा मोटरसाइकल चालकको बिजुलीको पोलमा ठोक्किएर मृत्यु भएको छ ।

आइतबार दिउँसो पौने ४ बजेतिर बयलवास बजारबाट मोहनपुरतर्फ जाँदै गरेको प्रदेश २ ०२ ००३ प ७७१३ नम्वरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिएपछि चालकले मोटरसाइकल लिएर भाग्न खोजेका थिए । त्यसक्रममा सडक छेउको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालक बरहथवा नगरपालिका १० शान्तिटोल बस्ने अच्छेलाल सिंह दनुवारका छोरा ३५ वर्षीय मुकेश सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका मुकेशलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगानाले उज्यालो अभियानसँग बताए । मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईश्वरपुर नगरपालिका ९ का ७० वर्षीय महेन्द्र साह र सोही ठाउँ बस्ने सरोज कुमार महतोकी छोरी वर्ष १५ की रन्जना कुमारी महतो घाईते भएका छन् ।

निधार र नाकामा चोट लागेर गम्भीर घाईते महेन्द्र साहलाई बयलवासमा सामान्य उपचार गरी थप उपचारका लागि जनकपुर रेफर गरिएको छ भने सामान्य घाईते रन्जना कुमारीको बयलवासमै उपचार चलिरहेको प्रहरीले जनायो ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलले सुरुमा रन्जना कुमारीलाई ठक्कर दिएको थियो । त्यसपछि चालकले मोटरसाइकल लिएर भाग्न खोज्दा ७० वर्षीय वृद्ध महेन्द्र साहलाई ठक्कर दिएर बिजुलीको पाेलमा ठोक्किएको हो ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय