रामग्राम नगरपालिकाको परासीस्थित पवन माविका विद्यार्थीहरु गणित विषयका शिक्षकले अन्याय गरेको भन्दै आन्दोलित भएका छन् ।
विद्यार्थीहरुले गणित विषयका शिक्षक रामप्रसाद बस्यालले आफूसँग ट्युसन पढ्ने विद्यार्थीलाई मात्र राम्रो ग्रेड दिएको र ट्युसन नपढ्ने सबैलई कमजोर ग्रेड दिएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका हुन्।उनीहरुले विद्यालय परिसर अगाडी गणित शिक्षकलाई कारबाहीको माग गर्दै पालिकाको शिक्षा शाखामा उजुरी समेत दिएका छन् ।
यता, नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्र प्रसाद रेग्मीले भने विद्यार्थीहरुले निवेदन फिर्ता लगेको बताएका छन् ।‘केही दिन अघि विद्यार्थीहरु निवेदन लिएर आएका थिए । मैले उनीहरुको अगाडि नै प्रधानाध्यापक ऋषि ढकाल र आरोपित शिक्षकलाई फोन गर्दा विद्यार्थीले झुटो आरोप लगाएको भन्नु भो,’ उनले भने, ‘त्यसपछि अर्को दिन एकै ठाउँमा बसेर छलफल गर्ने सहमति भएको थियो तर त्यही दिन विद्यार्थी आएर निवेदन फिर्ता लगे ।’
शाखा प्रमुख रेग्मीले विद्यार्थीलाई नगरपालिकाले पुन: परीक्षा लिने उक्त परीक्षामा विद्यार्थीले राम्रो अंक ल्याए शिक्षक कारबाहीमा पर्ने र विद्यार्थीले कमजोर ल्याए विद्यार्थी कारबाहीमा पर्ने तथा उक्त परीक्षाको आधारमा प्रमाणीकरण भइसकेको नतिजामा हेरफेर नहुने भनेपछि विद्यार्थीले निवेदन फिर्ता लिएको बताए ।यसबारेमा नगर शिक्षा शाखाले प्रधानाध्यापक र विषय शिक्षकसँग पनि पटक-पटक कुरा गर्दा विद्यार्थीमाथि अन्याय नगरेको उनीहरुले दाबी गर्दै आएको बताएका
छन्। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



