मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले मालपोत कार्यालय मलंगवालाई सम्पूर्ण सेवा नियमित गर्न निर्देशन दिएको छ ।मालपोत कार्यालयले साउन २२ गते सूचना निकालेर कार्यालयमा कार्यरत अधिकांश कर्मचारी अस्वस्थ भई जनशक्तिको अभाव रहेको र अत्यधिक भीडभाडका कारण कोरोना संक्रमण फैलने खतरा रहेको भन्दै साउन २४ गते आइतवारदेखि जग्गापास, अंशबन्डा लगायतका सेवा बन्द गरेको थियो । कार्यालयमा हिजो छड्के निरीक्षण गर्दा केही कर्मचारी पूर्व स्वीकृति नलिई अनुपस्थित रहेको र त्यसबाहेक अधिकांश कर्मचारी कार्यालयमा हाजिर रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यसरी कर्मचारीहरु कार्यालयमा नियमित हाजिर हुनु तर सेवा प्रवाह नगर्नु गम्भीर लापरवाही भएकाले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी आलोपालो वा टोकन प्रणाली अपनाई, मालपोत कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु तत्काल सूचारु गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।



