सर्लाही । धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा इन्धन वितरण प्रक्रियामै गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ । डिपो प्रमुख रँजीत कापडीले केही पेट्रोल पम्प सञ्चालकसँग मिलेमतो गरी तोकिएको मापदण्डभन्दा बढी पेट्रोलियम उपलब्ध गराएको तथ्य बाहिर आएको हो ।
सूत्रका अनुसार, अतिरिक्त रकमको लेनदेनमार्फत सीमाभन्दा बढी इन्धन आपूर्ति गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्ने अनुमान भइरहेका बेला यस्तो गतिविधि तीव्र बनेको बताइन्छ ।
पहिले दैनिक ४ हजार लिटरसम्म इन्धन खपत गर्ने पेट्रोल पम्पहरूले अहिले ३०–४० हजार लिटरसम्म माग देखाउन थालेका छन् ।
यसरी कृत्रिम रूपमा माग बढाएर इन्धन संकलन गरी पछि महँगोमा बिक्री गर्ने योजना बनाइएको आरोप छ ।
अतिरिक्त रकम नदिने पम्पहरूलाई भने न्यून मात्रामा इन्धन उपलब्ध गराइने, तर रकम बुझाउनेहरूलाई अत्यधिक आपूर्ति हुने गरेको स्रोतको दाबी छ । यसले बजारमा असन्तुलन सिर्जना गर्दै निगमलाई प्रत्यक्ष घाटा पुर्याइरहेको बताइएको छ ।
यता, डिपो प्रमुख कापडीले भने आरोप अस्वीकार गर्दै पम्पहरूले देखाएको खपतका आधारमा मात्र इन्धन वितरण गरिएको दाबी गरेका छन् । उनले कुनै पनि प्रकारको अनियमितता नभएको स्पष्ट पारेका छन् ।
तर कर्मचारी स्रोतहरूका अनुसार केही प्रभावशाली पम्पहरूमा अस्वाभाविक रूपमा बढी इन्धन पठाइएको देखिन्छ । यसले बजारमा कृत्रिम अभाव र मूल्यवृद्धिको सम्भावना बढाएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् ।



