सर्लाही । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ प्रस्तावक रहेको उज्यालो नेपाल अभियानको सर्लाही जिल्ला तदर्थ समिति गठन गरिएको छ। बुधबार धनबहादुर मिक्चनको अध्यक्षतामा सम्पन्न भेलाले छत्रमान डुम्जनको नेतृत्वमा ४२ सदस्यीय समिति बनाएको हो।
समितिमा चार जना उपाध्यक्ष रहेका छन्। यसमा कुमार कार्की, राम विश्वास राय र राम सोगरात महतो चयन भएका छन् भने महिला उपाध्यक्षको कोटा हाल खाली छ। सचिवमा राम विनोद कुशवाहा, सहसचिवमा सर्मिला गर्तौला, श्रीकुमार पाख्रिन, सुनिल साह र सीता लोप्चन रहेका छन्।
समितिका सदस्यहरूमा रामजी बाबु मैनाली, पञ्चमान गोले, बुद्धिमान घलान, मानवीर माझी, नरदेव सिंदान, पद्मा गोले, सिंहलाल वाइबा, तेज नरायण आले, कर्ण बाहादुर गोले र जगदिश चौधरी रहेका छन्। साथै सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। यसमा नारायण खपाङ्गी, हिराकाजी योञ्जन, ज्ञानध्वज बम्जन, शेर बहादुर योञ्जन, हरिदेव महतो, रन बहादुर लामा र यदु प्रसाद न्यौपाने छन्।
समितिका अध्यक्ष धनबहादुर मिक्चनले सर्लाहीपछि देशका अन्य ७७ जिल्लामा पनि तदर्थ समिति गठन हुने जानकारी दिए। उनले भने, “देशका सबै जिल्लामा समिति बनाएर उज्यालो अभियानलाई अझ उज्यालो बनाउनेछौँ।”
सर्लाही कुलमान घिसिङलाई पहिलोपटक नागरिक अभिनन्दन गर्ने जिल्ला पनि हो। गत जेठ २८ गते घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिएको थियो। त्यसपछि उनी मध्यपूर्वका चार देश–कतार, बहराइन, यूएई र ओमनको भ्रमणमा निस्किएका थिए। हाल उनी बेलायतमा कार्यक्रममा सहभागी छन् र आउँदो २६ तारिखमा स्वदेश फर्कने जनाइएको छ। अभियानका अभियन्ताहरूले फर्किएपछि तीव्र रूपमा अभियानका ‘वीङ्ग्स’ निर्माणमा लाग्ने बताए।



