महोत्तरी । महोत्तरीको धान रोपाइँको गति साउन तेस्रो सातायता दोब्बर भएको छ। साउन दोस्रो सातासम्म ३० प्रतिशतभन्दा कम रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारीमा पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।
मनसुन अनुकूल भएसँगै हिजो बिहीबारसम्म ५७ प्रतिशतमा पुगेको रोपाइँ आज ६० प्रतिशत नाघेको कार्यालयका सूचना अधिकारी अविरलकुमार महतोले बताए। “पानी परेपछि भूमिगत सिँचाइ सहज र कम खर्चिलो बनेको छ, जसका कारण रोपाइँको गति तीव्र भएको हो,” उनले भने।
साउन मसान्तसम्म यही गति रहे रोपाइँ ८० प्रतिशत नाघ्ने अनुमान कार्यालयको छ। हाल जिल्लाका ४५ हजार हेक्टर खेतीयोग्य धानबाली क्षेत्रमध्ये २५ हजार ७०० हेक्टरमा रोपाइँ भइसकेको छ।
भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादवका अनुसार, पानी परिरहँदा खेत हिल्याउन सजिलो भएको छ र बस्तीमा अधिकांश रोपाइँ सकिएको छ। बर्दिबास–७ का ७० वर्षीय किसान विन्देश्वर यादव भन्छन्, “पहिलेको रोपो लहलहाउन थालेपछि धान भित्रिने आशा पलाएको छ।”
तर, बीउ, मल र सिँचाइको भरपर्दो सुविधा नपाइँदा किसानले परम्परागत खेती तालिका पालना गर्न नसकेको गुनासो गरेका छन्। यस वर्षको हिउँदे धान जेठ तेस्रो सातामा ब्याड राख्ने, असार तेस्रो सातासम्म बीउ रोप्ने र साउन मसान्तसम्म खरुअन रोप्ने तालिका भए पनि पानी र बीउको अभावले ढिलाइ भएको किसानको भनाइ छ।



