सर्लाहीमा फरार प्रतिवादीविरुद्ध प्रहरीको अभियान : विभिन्न मुद्दाका ११ जना पक्राउ

सर्लाही । विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये बागमती नगरपालिका–६ का आनन्दकुमार राय लागुऔषध तथा मोबाइल चोरीसम्बन्धी चार फरक मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनीविरुद्ध तीन महिनादेखि तीन महिना १५ दिनसम्मको कैद सजायका साथै प्रत्येक मुद्दामा पाँच–पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
यस्तै, बरहथवा नगरपालिका–१६ का रामधारी राय यादव कुटपिट मुद्दामा दोषी ठहर भई १० हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका थिए।

चक्रघट्टा गाउँपालिकाका सुरेश यादव, शेख इसराफुल, विजय साह सोनार, शेख ममताज र विजय साह कलवारलाई आपराधिक उपद्रव मुद्दामा जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसैगरी, चक्रघट्टा गाउँपालिका–६ का कृष्णकुमार राय गम्भीर चोरी मुद्दामा दोषी ठहर भई ६ महिना कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका थिए।

ईश्वरपुर नगरपालिका–११ का भोला राय यादव र दीपबहादुर बल लागुऔषध मुद्दामा जनही २० हजार रुपैयाँ जरिवानाका फरार प्रतिवादी थिए भने चक्रघट्टा गाउँपालिका–७ का सत्रोधन कुशवाहालाई लागुऔषध मुद्दामा ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका सबै प्रतिवादीलाई असार २० गते सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका व्यक्तिविरुद्ध खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय