जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमै प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाले प्रहरी संगठनभित्र वर्षौंदेखि जरा गाडेर बसेका विकृति हटाउन थालेको सुधार अभियानलाई धेरैले साहसिक र उदाहरणीय कदमका रूपमा मूल्यांकन गरेका छन्। छोटो कार्यकाल भए पनि उनले सुशासन, अनुशासन, सेवा प्रवाह र आन्तरिक शुद्धीकरणलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश प्रहरीभित्र व्यापक सुधारको थालनी गरेका हुन्।
कार्यभार सम्हालेसँगै उनले सर्वप्रथम विवादित बन्दै आएको ‘घुमुवा प्रहरी’ प्रणालीमाथि कडाइ गरेका थिए। पटक–पटक काज तथा सरुवा भएर मधेशमा बसेका, एक वर्षभन्दा बढी समयदेखि एउटै क्षेत्रमा कार्यरत तथा विभिन्न विवादमा तानिएका प्रहरी कर्मचारीमाथि छानबिन गरी जवानदेखि प्रहरी उपरीक्षक (एसपी) तहसम्मका करिब २५० जनालाई अन्य जिल्ला तथा प्रदेशबाहिर पठाउने प्रक्रिया अघि बढाइएको थियो।
डिआईजी थपलियाले घुमुवा प्रहरी व्यवस्थालाई संगठनभित्रको ‘कचमचिएको पिलो जस्तो घाउ’ को संज्ञा दिँदै त्यसको उपचार आवश्यक भएको बताएका थिए। उनका अनुसार सुधारका क्रममा असन्तुष्टि र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि सत्य र तथ्यका आधारमा समाजले मूल्यांकन गर्नेमा उनी विश्वस्त थिए।
उनको नेतृत्वमा प्रहरी संगठनभित्र सक्रिय बिचौलिया प्रवृत्तिमाथि समेत निगरानी बढाइएको थियो। प्रहरी कार्यालयका विभिन्न शाखामा हुने भनिएका अनियमितता नियन्त्रण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने, पीडित, निम्नवर्गीय तथा विपन्न समुदायका नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने विषयलाई उनले विशेष प्राथमिकतामा राखेका थिए।
प्रहरी स्रोतका अनुसार मधेश प्रदेशमा लामो समयदेखि प्रभाव जमाएर बसेका केही स्वार्थ समूह तथा आर्थिक लाभसँग जोडिएका गिरोह सुधार अभियानबाट असन्तुष्ट बनेका थिए। केही समूहले विभिन्न माध्यमबाट डिआईजी थपलियाविरुद्ध प्रचारबाजी र विवाद सिर्जना गर्ने प्रयास गरे पनि उनले अभियानलाई निरन्तरता दिएका थिए।
‘नबिराउनु, नडराउनु’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै उनले प्रहरी संगठनभित्र अनुशासन र जवाफदेहिताको संस्कृति स्थापित गर्न प्रयास गरेको उनका सहकर्मीहरू बताउँछन्। प्रहरी प्रशासनलाई नागरिकमैत्री, उत्तरदायी र विश्वासिलो बनाउने लक्ष्यसहित उनले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिएका थिए।
डिआईजी थपलियाले आफ्नो कार्यकालको अवधि भन्दा पनि त्यस अवधिमा नागरिकको अपेक्षाअनुसार सेवा प्रवाहमा कति सुधार ल्याउन सकियो भन्ने विषयलाई महत्व दिएको बताउने गरेका छन्। उनका अनुसार मधेश प्रदेश प्रहरीमा सुरु गरिएको सुधार अभियान केवल सुरुआत मात्र हो र दीर्घकालीन परिवर्तनका लागि अझै धेरै काम गर्न बाँकी छ।
सुरक्षा मामिलाका जानकारहरूका अनुसार डिआईजी थपलियाले थालेको घुमुवा प्रहरी नियन्त्रण, बिचौलिया प्रवृत्तिमाथिको अंकुश, आन्तरिक शुद्धीकरण र सुशासनको अभियानलाई आगामी नेतृत्वले निरन्तरता दिन सके मधेश प्रदेश प्रहरी प्रशासन थप पारदर्शी, जवाफदेही र प्रभावकारी बन्नेछ।
आठ महिनाको छोटो अवधिमा उनले सुरु गरेको सुधार अभियानले प्रहरी संगठनभित्र मात्र होइन, सर्वसाधारण नागरिकमाझ पनि सकारात्मक सन्देश दिएको छ। यही कारण धेरैले उनको कार्यकाललाई मधेश प्रदेश प्रहरीको इतिहासमा सुधार र सुशासनको नयाँ अध्यायका रूपमा व्याख्या गर्न थालेका छन्।



