सर्लाही । प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. संजीव कुमार सिंहले अवकाशपूर्व सरकारी सम्पत्ति व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोपपछि छानबिन प्रक्रिया सुरु भएको छ।
रेडियो मलङ्वा र प्रदेश डायरीमा उक्त विषय प्रशारण र प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले घटनाबारे तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिँदै छानबिन समिति गठन गरेको हो।
अस्पतालका स्रोतका अनुसार, डा. सिंहले अवकाश हुनुभन्दा केही दिनअघि अस्पताल परिसरमा रहेका तथा विभिन्न सप्लायर्समार्फत खरिद गरिएका लाखौं मूल्यका सरकारी सामग्रीहरू—जस्तै पलंग, दराज, डस्ना, पंखा र कुलर—अस्पतालको गाडीमार्फत बिरगञ्जस्थित आफ्नै निजी निवासमा पठाएका थिए।
घटनाका साक्षी रहेका केही कर्मचारीहरूले ती सामग्रीहरू अस्पतालको आधिकारिक गाडीमा लोड गरी बाहिर पठाइएको पुष्टि गरेका छन्। उनीहरूले भने, “अस्पतालका नाममा खरिद गरिएका सामग्री निजी प्रयोगका लागि लैजानु दुरुपयोगको स्पष्ट उदाहरण हो। सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्छ।”
यस घटनापछि अस्पतालभित्र चर्को असन्तोष उत्पन्न भएको छ। कर्मचारी र चिकित्सकहरूले तत्काल सत्य तथ्य बाहिर ल्याउन माग गर्दै स्वास्थ्य कार्यालय मधेस प्रदेश र प्रशासनको ध्यानाकर्षण गराएका छन्।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार, छानबिन समितिले अस्पताल प्रशासन, आपूर्ति शाखा र सम्बन्धित व्यक्तिहरूबाट विवरण संकलन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्नेछ।




