भारतीय सेनाले मंगलबार राति पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादी लुकेका स्थानहरूमा ठूलो हवाई कारबाही गरेको छ। यस आक्रमणमा जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरका १० जना आफन्त र चारजना नजिकका सहयोगी मारिएको दाबी भारतीय सेनाले गरेको छ।
सेनाको यो कारबाही आतंकवादविरुद्धको ठुलो सफलता मानिएको छ। जैश-ए-मोहम्मदले पनि आफ्ना केही सदस्यको मृत्युको पुष्टि गरिसकेको छ।
भारतीय सुरक्षा स्रोतअनुसार, कारबाहीका क्रममा लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका जम्मा ९ वटा आतंकवादी आधारशिविरहरू ध्वस्त पारिएका छन्। तीमध्ये चार पाकिस्तानको पञ्जाब प्रान्तमा र बाँकी पाँच पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका थिए।
पञ्जाब प्रान्तका मरकज सुभान अल्लाह (बहावलपुर), मरकज तैयबा (मुरिदके), सरजल तेहरा कलान र मेहमुना जोया क्याम्प (सियालकोट) ध्वस्त पारिएका प्रमुख ठाँउहरू हुन्।
त्यस्तै, पीओकेमा मरकज अहले हदीस (बर्नाला, भिम्बर), मरकज अब्बास (कोटली), मस्कर राहिल सहिद (शवाई नाला क्याम्प), र मरकज सैयदना बिलाल (मुजफ्फराबाद) मा आक्रमण भएको बताइएको छ।
यो कारबाहीले पाकिस्तानमा रहेका आतंकवादी सञ्जालमा ठूलो आघात पुगेको सुरक्षा स्रोतहरू बताउँछन्।



