सर्लाही । बालविवाह, दाइजो प्रथा, र लैङ्गिक विभेदविरुद्ध सक्रिय हुँदै आएका सर्लाहीका किशोरकिशोरीहरू आफैँ सामाजिक, मानसिक र कानुनी जोखिममा छन् । समाजको परिवर्तनको लागि अग्रपङ्क्तिमा उभिएका यी युवाहरूलाई राज्यका जिम्मेवार निकाय र समाजका अगुवाहरूले नै असहयोग गर्ने अवस्था अझै पनि विद्यमान छ ।
हरिपुर्वा नगरपालिका–९ की १८ वर्षीया सिमा खातुन अहिले कक्षा १२ मा अध्ययनरत छन् । उनी श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा पढ्दै, बागमती सेवा समाजको सहयोगमा सञ्चालन भएको बाल क्लबमार्फत बालविवाह र दाइजो प्रथाविरुद्ध सक्रिय छन् । विभिन्न संघसंस्थाबाट तालिम पाएपछि उनले लैङ्गिक असमानता, बालविवाहका नकरात्मक असरबारे बुझ्न पाएकी छन् ।
सिमाले भन्छिन्, “मुस्लिम समुदायमा छोरीहरूको आवाज दबाइन्छ । त्यसमाथि बालविवाह रोक्न खोज्दा परिवार र समुदायबाटै विरोध र धम्की आउँछ ।” उनीका अनुसार छोरा चाहिने सोच, आर्थिक भार, र सामाजिक दबाबका कारण छोरीहरूको चाँडो विवाह गर्ने चलन अझै पनि बलियो छ ।
हरिपुर्वा–२ की किशोरी रीता चौधरीले भने, “कानुनले बालविवाहलाई अपराध मानेको छ तर कार्यान्वयन नगर्दा हामीलाई नै धम्की आउने, दुर्व्यवहार हुने गरेको छ ।” उनीहरू बालविवाह हुन लागेका घटनाहरूमा घरमै पुगेर रोक्न खोज्दा उल्टै जनप्रतिनिधि र राजनीतिक दलका व्यक्तिहरूले दबाब दिने, तर्साउने काम गरेको गुनासो गर्छिन् ।
बाल क्लबका सदस्यहरूले सडक नाटक, चेतनामूलक र्याली, सामुदायिक बैठकमार्फत जनचेतना फैलाउँदै आएका छन् । यस्ता गतिविधिका कारण केही सुधार भए पनि कतिपय परिवारले अब भारत लगेर बालविवाह गराउने प्रवृत्ति बढाएको हरिपुर्वा–४ का दिनेश राय बताउँछन् । “हामीले रोकी दिने डरले भारत लगे पनि हामी पछि उजुरी गर्छौं,” उनले भने, “तर त्यसपछि हाम्रो परिवारलाई समाजबाटै बहिष्कृत गरिन्छ, वडाबाट सेवा दिइँदैन ।”
प्रहरी प्रशासनसमेत निष्क्रिय देखिन्छ। कुमारी साह (नाम परिवर्तन) भन्छिन्, “मैले उजुरी गरेपछि प्रहरीकै कारण मेरो नाम खुलेको थियो । त्यसपछि केटीका परिवारले मलाई गाली गरे, धम्की दिए।” यस्तो अवस्था हुनु आफैँमा गम्भीर चुनौती हो, जहाँ पीडितको गोपनीयता सुरक्षित छैन ।
चन्द्रनगर गाउँपालिका–५ का अभिभावक रामबाबु चौधरीका अनुसार छोराछोरी भाग्न थालेपछि ‘इज्जत’ जोगाउन कैयौंले सानै उमेरमा छोरीको विवाह गरिदिन्छन् । अन्तरजातीय विवाह अझै पनि सामाजिक कलंक मानिने भएकाले पनि अभिभावकहरू डराउँछन् ।
हाल सर्लाही जिल्लामा १२ वटा नगरस्तरीय, ७ वटा गाउँस्तरीय र १ वटा सञ्जालसहित ३७८ किशोरकिशोरी बाल क्लबमा आबद्ध छन् । संस्थाका कार्यक्रम संयोजक प्रमेश बादेले स्थानीय पालिकासँगको सहकार्यमा बागमती सेवा समाज र वल्डभिजनको सहयोगमा बालविकाससम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् । जीवन उपयोगी सीप र यौनिक शिक्षासम्बन्धी तालिमहरू समेत दिइन्छ ।
यसको सकारात्मक प्रभाव पनि देखिन थालेको छ। पहिलेको जस्तो खुल्ला रूपमा बालविवाह र दाइजो लेनदेनको प्रचलनमा कमी आएको छ । तथापि, दलाल प्रवृत्ति र सीमापारको विवाहले नयाँ चुनौती थपेको छ ।
स्थानीय अगुवा शिवचन्द्र चौधरीका अनुसार सामाजिक कुरीतिलाई जरा उखेल्न कानुनी कठोरता मात्र नभई सामाजिक सचेतना आवश्यक छ । हरिपुर्वा नगरपालिकाका प्रमुख विनोद साह तेली भन्छन्, “जनप्रतिनिधि स्वयंले यस्ता कुसंस्कारलाई प्रोत्साहन गर्नु गैरकानुनी मात्रै होइन, निन्दनीय पनि हो ।” नगरपालिकाले बाल क्लबसँग सहकार्य गर्दै यस्ता विकृति न्यूनीकरणको अभियानमा साथ दिइरहेको उनले बताए ।
मानव अधिकार आयोग सर्लाहीका अध्यक्ष रजनिकान्त झाले किशोरकिशोरीहरूबाट भएको सक्रियता सराहनीय भए पनि उनीहरूलाई साथ दिनुपर्ने सुरक्षा निकाय र राजनीतिक दलहरूले उल्टै अप्ठ्यारो पार्नु निन्दनीय भएको बताए । “यिनै युवाहरूले सामाजिक रूपान्तरण ल्याउँछन्, उनीहरूलाई स्वीकारेर अघि बढ्नुपर्छ,” उनले जोड दिए ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार सर्लाही जिल्लामा कुल विवाहमध्ये ३७.२ प्रतिशत विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेका छन्, जुन कानुनी रूपमा बालविवाहमा पर्छ । यस्तो अवस्था तत्काल नरोके सिङ्गो पुस्ताको भविष्य नै खतरामा पर्न सक्ने देखिन्छ ।



