सर्लाही, माघ २६ – सर्लाहीको बलरा नगरपालिका–९ मा रहेको उखुबारीमा भएको आगलागिबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
दिउँसो करिब २ बजे स्थानीय शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पातमा आगो लगाउँदा सो आगो नियन्त्रण बाहिर गएर नजिकै रहेको निरज सिंह र पंकज सिंहको १२ कठ्ठा क्षेत्रफलमा फैलिएको थियो ।
आगलागिबाट उखुबारी पूर्ण रूपमा नष्ट भए पनि कुनै मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीको भनाइ छ । आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले संयुक्त प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय बलराका प्र.ब.ना.नि. हेम बहादुर कुँवरको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय गढहियाका प्र.नि. उज्जवल कार्कीको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
सुरक्षाकर्मी र स्थानीयको सक्रियताले आगो करिब ३:२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



