सरोज यादव | सर्लाही, २१ फागुन | कानूनले दाईजो प्रथालाई अपराध मानेको छ । समाजले संस्कारको रुपमा मान्दै आएको दाईजोले प्रथाको रुप धारण गरेपछि विकृति बढेको छ । समाजमा चलेको दाईजोको चलनले गरिब विपन्न परिवारका छोरीहरुको सामाजिक परम्परा अनुसार विवाह गर्नपनि समस्या हुने गरेको छ । विशेष गरी मधेसी समुदायमा दाईजोको चलन बाध्यता जस्तै बनेको छ ।
दाईजो विना विवाह गर्नेलाई घर परिवारले पनि नस्वीकार्ने तथा सामाजमा पनि गलत दृष्किोणले हेर्ने गरेकै कारण दाईजो बाध्यात्मक परिस्थिति बन्ने गरेको छ । कतिपय दाईजो विरोधी अभियानमा लाग्ने अभियन्ताहरु नै सामाजको बहिष्करणमा पर्ने डर र भयले दाईजोको विरोधी हुँदाहुँदै पनि छोराछोरीको विवाहमा दाईजो लिनेदिने काममा संलग्न हुनुपर्ने बाध्यता छ ।
समाजमा कतिपयको दाईजो दिन नसकेकै कारणले पनि विवाहहरु रोकिने घटनाहरु हुने गरेका छन् । दाईजोकै निहुँमा कति मधेसी समुदायका छोरीचेलीहरुले अकालमा ज्यान गुमाउनु परेको घटनाहरुपनि भएका छन् । तर, समाज भने अझै संस्कार र प्रथाको रुपमा मान्यता दिदै यसलाई प्रचलनमा ल्याइरहेका छन् ।
कानूनले पनि दाईजो लिने र दिने अपराध नै मानेको र समाजको चेतनास्तरमा पनि आएको परिवर्तनले पछिल्लो समयमा भने कतै कतै समाजलाई चुनौती दिने खालको आदर्श विवाहहरु पनि हुने गरेको छ । एकजोडीले यस्तै विवाह गरेर समाजका लागि आदर्श जोडी बनेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ धारटोल स्थित राम वृक्ष महतोका छोरा राष्ट्र उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक बिरेन्द्र महतोले मिथिला नगरपालिका ८, कुसुम बिछौना स्थित उमेश महतोकी छोरी ममता कुमारी महतो संग दाईजो बिना नै विवाह गरेका छन् ।
उनीहरु दुवैजना फागुन २० गते हिन्दु परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन् । दाईजो बिना नै विवाह गरेका जोडीको निर्णयले मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न सकिने विश्वास गरिएको छ । तराई मधेशमा विपन्न देखि सम्पन्न परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेको चलन परम्परा नै बन्ने हो कि भन्ने समाजमा चिन्ता छाएको छ ।
महतोले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको दुलाहा बिरेन्द्र महतोका बुवा राम वृक्ष महतो ( कोईरीले ) ले बताउनुभयो । भाईलाई बिना दाईजो विवाह गर्न पाउँदा बेहुली पक्षलाई आर्थिक भार पनि नपरेको र यसले समाजलाई सकारात्मक सन्देश दिएको विरेन्द्रका दाई जितेन्द्र महतोले बताउनुभयो । यसअघि पनि यस्ता आदर्श विवाहरु हुदै आएका छन् । तर, परम्परागत सोच भएका समाजमा भने यस्तो विवाहको स्वीकार्यता सहज भएको छैन ।



