जनकपुर । धनुषाको हंसपुर नगरपालिका–६ का शम्भु साहको चित्कारले सामाजिक सञ्जाल हल्लिएको छ। १६ वर्षीय छोरा आयुषको ज्यान गएको पीडित बाबुको बयानले अस्पतालप्रति गम्भीर प्रश्न उठाएको छ। ‘अस्पतालले पैसा सकिएपछि रेफर गर्यो,’ भन्दै शम्भुले छोरा एम्बुलेन्समै मृत अवस्थामा अस्पताल अगाडि रोएको भिडियो अहिले भाइरल छ।
माघ १९ गते मोटरसाइकल दुर्घटनामा परेका आयुषलाई जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो। दुई महिना उपचारको नाममा आठ लाखभन्दा बढी रकम तिर्नुपरेको भन्दै शम्भुले आरोप लगाए। जब उनले पैसा दिन छोडे, अस्पतालले चेक, तमसुक लिएर जबरजस्ती रेफर गरेको उनले बताए।
शम्भुको मात्र होइन, यस्तै पीडामा छन् धनुषाकै चन्देश्वर कापर र महोत्तरीका रञ्जित रामका परिवारहरू। चन्देश्वरका अनुसार छोरा जीवन कापरको उपचारमा आठ लाख खर्चिए, तर असार २७ मा मृत्यु भयो। रञ्जितकी श्रीमती सङ्गीता कुमारी भन्छिन्, “हामीले १५ लाखभन्दा बढी खर्च गर्यौं, तर अस्पतालको लापरबाहीले ज्यान गयो।”
तीन फरक घटना, तर पीडा एउटै — ‘न्युरो अस्पतालले पैसा लुट्यो र ज्यान गयो।’
तर, अस्पताल प्रशासन यी सबै आरोप नकार्छ। हालैको पत्रकार सम्मेलनमा न्युरो सर्जन डा. विजय राउतले सबै आरोप अस्वीकार गर्दै भने, “मृत्यु हाम्रो अस्पतालमा भएको होइन, हामीले उत्कृष्ट सेवा दिएका छौं।”
राउत भन्छन्, “अमेरिकाको जस्तो सेवा जनकपुरमै दिइरहेका छौं।” अस्पतालले शम्भु साहबाट केवल तीन लाख नगद र पाँच लाखको चेक मात्र लिएको दाबी पनि गर्यो।
यद्यपि, पीडितहरू भन्छन् — ‘हामीले छोरा गुमायौं, घरबार बेच्यौं, न्याय माग्दा अपमान मात्रै पाइन्छ।’
अहिले सवाल उठेको छ — अस्पताल जस्तो संवेदनशील स्थानमा उपचार कि व्यापार? पीडितको चित्कारमा राज्य, नियामक निकाय र स्वास्थ्य प्रणालीले कान दिन्छ कि होइन?



