धनुषा प्रहरी कार्यालयमा मन्दिर निर्माण ‘घोटाला’ ? १५ लाखको योजना ६० लाख पुग्दा पनि काम अधुरै

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रांगणभित्र निर्माणाधीन मन्दिरको लागत र निर्माण प्रक्रिया विवादमा तानिएको छ। १५ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने भनिएको मन्दिरमा हालसम्म ४५ लाख रुपैयाँ खर्च भइसकेको छ भने अझै १५ लाख भुक्तानी बाँकी रहेको स्रोतको दाबी छ। तर, निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि मन्दिर सञ्चालनमा आउन सकेको छैन।

प्रहरी स्रोतका अनुसार बढीमा ६ महिनाभित्र सकिनुपर्ने निर्माण कार्य अस्वाभाविक लागत वृद्धिका कारण अलपत्र परेको हो। कार्यालय प्रवेशद्वार नजिकै पहिले नै दुर्गा भवानीको मन्दिर हुँदाहुँदै तीन वर्षअघि अर्को मन्दिर निर्माण सुरु गरिएको थियो। लागत विवरण देखेर कुनै पनि एसपी उद्घाटन गर्न र बाँकी भुक्तानी निकासा गर्न तयार नभएको बताइन्छ।

तत्कालीन इन्स्पेक्टरमाथि आरोप

उक्त मन्दिर निर्माण तत्कालीन प्रहरी निरीक्षक बिजय यादवको कार्यकालमा सुरु भएको थियो। हाल उनी मधेश प्रदेश प्रहरी कार्यालयमा लेखाअधिकृतका रूपमा कार्यरत छन्। मन्दिर निर्माणमा कमिसनको चलखेल भएको आरोप उनीमाथि लागेको छ। यद्यपि, यसबारे आधिकारिक छानबिन भने सुरु भएको छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका वर्तमान प्रमुख एसपी रुगमबहादुर कुँवरले समेत मन्दिर उद्घाटन नगर्ने मनस्थिति बनाएको स्रोतको दाबी छ। आवश्यकता नभएको र बास्तु नमिलेको भन्दै मन्दिर निर्माणप्रति असन्तुष्टि जनाइएको बताइन्छ। यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लागतसम्बन्धी विषयमा छानबिन गरे अघिल्ला एसपीहरू समेत तानिन सक्ने आशंका गरिँदै आएको छ।

दुर्घटना प्रकरणले थपियो विवाद

यसैबीच, जनकपुरको मुरलीचोकमा फागुन ११ गते भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरी जवानको मृत्यु भएपछि लेखाअधिकृत बिजय यादव पुनः विवादमा परेका छन्। उनी स्वयं चलाएको मोटरसाइकलमा पछाडि सवार ट्राफिक हवल्दारको घटनास्थलमै मृत्यु भएको थियो भने यादव सामान्य घाइते भएका थिए।

प्रदेश प्रहरी कार्यालयका लेखाअधिकृतले जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत महिला जवानलाई मोटरसाइकलमा किन र कहाँ लैजाँदै थिए भन्ने प्रश्न उठेको छ। दुर्घटना कसरी भयो, सीसीटीभी फुटेज किन सार्वजनिक गरिएको छैन, र प्रदेश प्रहरी प्रमुखसँग स्वीकृति लिइएको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न उठिरहेका छन्।

पीडित मृतकका पति वैदेशिक रोजगारीमा रहेका छन्। तर, घटनापछि अहिलेसम्म औपचारिक छानबिन समिति नबनाइएको भन्दै प्रहरीभित्रै असन्तुष्टि बढेको बताइन्छ। अन्य अधिकारीबाट यस्तो घटना भएको भए तत्काल निलम्बन हुने अवस्था हुने तर्कसमेत उठाइएको छ।

‘निकटता’ले जोगिएको चर्चा

स्रोतका अनुसार, पूर्व आईजीपी सर्वेन्द्र खनालसँग निकट सम्बन्धका कारण यादवमाथि कारबाही अघि नबढेको चर्चा छ। खनाल आईजीपी हुँदा यादव उनको सुरक्षाकर्मी तथा आर्थिक कारोबार हेर्ने भूमिकामा थिए। हालका आईजीपी दानबहादुर कार्कीसँग समेत पुरानो सम्बन्ध रहेकाले छानबिन प्रभावित भएको आशंका व्यक्त गरिएको छ।

यादवलाई लेखा तालिममा पठाएर जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको र पछि मधेश प्रदेश प्रहरी कार्यालयमा लेखाअधिकृतका रूपमा पदस्थापन गरिएको बताइन्छ।

मन्दिर निर्माणमा भएको भनिएको अनियमितता र ट्राफिक प्रहरीको मृत्यु प्रकरणबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर