सर्लाही । सर्लाहीको मलंगवामा कार्यरत एक सब–इन्जिनियरको गोली हानी हत्या गरिएको घटनामा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नियुक्ति प्रक्रियासँग जोडिएको व्यक्तिगत स्वार्थका कारण योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत २०८२ फागुन ३ गते साँझ करिब ७:५५ बजे जिल्ला पूर्वाधार विकास कार्यालय मलङ्वा सर्लाहीमा कार्यरत ३६ वर्षीय सब–इन्जिनियर प्रमोद कुमार यादवलाई डेराबाट बाहिर बोलाई गोली प्रहार गरिएको थियो । गम्भीर घाइते अवस्थामा उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । पोस्टमार्टम प्रतिवेदनअनुसार उनको छातीमा गोली लागेको पुष्टि भएको छ ।
नियुक्ति विवाद नै हत्या कारण
प्रहरी अनुसन्धानका क्रममा महोत्तरी रामगोपालपुर नगरपालिका–५ घर भई हाल बरहथवा नगरपालिका–९ शान्तिटोलमा बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो मुख्य योजनाकार रहेको खुलेको छ । उनी रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए ।
प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशबाट सहायक पाँचौं तहको सब–इन्जिनियर पदका लागि मृतक प्रमोद कुमार यादव मुख्य उम्मेदवार र गणेश महतो एकमात्र वैकल्पिक उम्मेदवार रहेको खुलेको छ । नियुक्त भएको एक वर्षभित्र पद रिक्त भए आफूले स्थायी नियुक्ति पाउने बुझाइका आधारमा गणेशले हत्या योजना बनाएको अनुसन्धानबाट देखिएको छ ।
पूर्वयोजना अनुसार गोली प्रहार
प्रहरीका अनुसार गणेशले आफ्ना नातेदार चन्द्र किशोर सिंह कुशवाहासँग मिलेर योजना बनाएका थिए । उनले आफ्नै भाइ विजय कुमार महतोलाई दशैंअघि नै ८० हजार रुपैयाँ दिएर अवैध हतियार खरिद गर्न लगाएको खुलेको छ । सोही पेस्तोल प्रयोग गरी हत्या गरिएको प्रारम्भिक निष्कर्ष छ ।
घटनाका दिन गणेशले ‘राकेश यादव’ नाम प्रयोग गरी मृतकलाई व्हाट्सएप कलमार्फत डेराबाट बाहिर बोलाएका थिए । बाहिर आएलगत्तै उनीमाथि गोली प्रहार गरिएको थियो । गोली हानेपछि अभियुक्तहरू मोटरसाइकलमा फरार भएका थिए। प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल रौतहटको गढीमाई नगरपालिका क्षेत्रमा फेला परेको थियो ।
हतियार र सामग्री बरामद
प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ भने अभियुक्तहरूले प्रयोग गरेको भनिएको पेस्तोलसमेत फेला पारेको जनाएको छ । साथै भारतीय नम्बर प्लेटको मोटरसाइकल र तीन थान मोबाइल फोन पनि बरामद गरिएको छ। बरामद हतियारको फरेन्सिक परीक्षण प्रक्रिया अघि बढाइएको छ ।
उक्त पेस्तोल केही दिनअघि मलंगवा–४ स्थित निर्माणाधीन मन्दिर परिसरमा एक बालकले फेला पारेको र खेलाउने क्रममा पड्किँदा घाइते भएको घटना पनि सार्वजनिक भएको थियो । सोही हतियार नै घटनामा प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका छ ।
तीन जना पक्राउ, अनुसन्धान जारी
घटनामा संलग्न रहेको आरोपमा गणेश कुमार महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार हत्या प्रकरणमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा अवैध हातहतियारसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।




