सर्लाही । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र गम्भीर आन्तरिक विवाद सतहमा आएको छ। कांग्रेस सभापति गगनकुमार थापालाई सर्लाही–४ बाट पराजित गराउने योजनासहित कांग्रेस नेता शेखर कोइराला निकट व्यक्तिहरू सक्रिय भएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि पार्टीभित्र ‘विश्वासघात’को आरोप सुरु भएको हो।
सार्वजनिक अडियोमा शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया र धनुषा ढल्केबरका ‘सिंह’ थरका एक कांग्रेस कार्यकर्ताबीचको टेलिफोन संवाद रहेको बताइएको छ। उक्त संवादमा सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहलाई जिताउने र गगन थापालाई हराउने रणनीतिबारे छलफल भएको सुनिन्छ।
अडियोमा पूर्व प्रदेश सांसद उपेन्द्र कुशहवालाई ‘मिलाउन’ खोजिएको र त्यसका लागि आवश्यक रकमबारे प्रश्न उठाइएको छ। संवादमा ‘उपेन्द्र मिलेपछि पैसा कसले दिन्छ?’ भन्ने प्रश्नमा थपलियाले ‘अमरेशले’ भन्ने जवाफ दिएको स्पष्ट सुनिन्छ।
सर्लाहीका कांग्रेस कार्यकर्ताका अनुसार उक्त व्यक्ति धनकौल क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न देखिएपछि नियन्त्रणमा लिइएको थियो। सोधपुछका क्रममा उनले ‘शेखर कोइरालाको निर्देशनमा गगन थापालाई हराउने उद्देश्यले आएको’ स्वीकार गरेको दाबी गरिएको छ। मोबाइल फोन जाँच गर्दा थपलिया र अमरेश सिंहसँग निरन्तर सम्पर्क भएको कल डिटेलसमेत भेटिएको कार्यकर्ताहरूले बताएका छन्।
कांग्रेसको १४औँ महाधिवेशनपछि शेखर कोइराला र गगन थापाबीच दूरी बढ्दै गएको चर्चा चल्दै आएको थियो। पार्टी केन्द्रीय समितिले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि कोइरालाले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए। यही पृष्ठभूमिमा सार्वजनिक अडियोलाई कांग्रेसभित्रको शक्ति संघर्षसँग जोडेर हेरिएको छ।
सभापति थापालाई जिताउन सर्लाहीका कांग्रेस कार्यकर्ता एकजुट भएका बेला पार्टीकै प्रभावशाली नेतानिकट समूहबाट हराउने प्रयास भएको आरोप लागेपछि स्थानीयदेखि केन्द्रसम्म तीव्र प्रतिक्रिया देखिन थालेको छ। अडियोको सत्यता र घटनाबारे पार्टी नेतृत्वले औपचारिक छानबिन गर्छ कि गर्दैन भन्ने चासो अहिले कांग्रेस वृत्तमा बढेको छ।



